Radio Tamsaling - विश्व आदिवासी दिवस र जनजाति आन्दोलनको बाटो

विश्व आदिवासी दिवस र जनजाति आन्दोलनको बाटो

विचार/विश्लेषण मोहन गोले तामाङ प्रकाशित मिति: २०७४ श्रावन २३ सोमबार

साउन २३, काठामाडौ :
फेरि हामी विश्व आदिवासी दिवस (अगस्ट ९) को संघारमा आइपुगेका छौ । पटकको हिसावले यो २३ औ विश्व आदिवासी दिवस हो ।

यस अवसरमा आदिवासी जनजाति संघ÷संगठनहरुले विभिन्न कार्यक्रमको आयोजना गर्दैछन् । काठमाडौंमा केही दिनदेखि निरन्तर विभिन्न शिर्षक राखेर कार्यक्रमहरुको आयोजना भइरहेका छन् । एउटै कार्यक्रममा दशवटासम्म कार्यपत्रहरु प्रस्तुत भइरहेका छन् ।

 प्रायः शिर्षकहरु स्थानीय तहमा आदिवासी जनजातिको पहुँच, संविधान संशोधनमा जनजातिको भूमिका, आइएलओ १६९ र युएनड्रिप कार्यान्वयनको अवस्था, अल्पसङ्ख्यक र आदिवासी जनजातिको प्रश्न, जनजाति आन्दोलनको विगत र वर्तमान अवस्था आदि राखिएका हुन्छन् । समयको हिसावले कार्यक्रम चियानास्ताको मात्रै भए २ घण्टा र खाना सहितको भए ६ घण्टासम्मको हुने गरेको छ । सहभागीहरु अन्तमा भत्ता पनि छ कि भनेर आयोजकतिर पुलुक्क हेर्छन् र हिड्छन् । कार्यक्रमको नाममा कहिले जलपान, कहिले चियापान, कहिले डिनर, कहिले लन्च त कहिले ककटेल पार्टी समेत हुने गरेको छ । लाग्छ केही दिनदेखि काठमाडौंका जनजाति नेताहरुले घरमा भात खाएका छैनन् । नढाँटी भन्दा यसक्रममा मैले पनि तीन छाक जति जोगााएको छु । यतिबेला जातीय संस्थाका नेतादेखि महासंघका नेताज्यूहरुलाई स्वदेशदेखि विदेशसम्मको कार्यक्रममा भ्याई नभ्याई छ । एउटा कार्यक्रममा १० मिनेट बस्छन्, खादा÷माला लगाउँछन्, रेकर्ड गरेर राखेको जस्तो रेडिमेड कुरा बोल्छन् र अर्को कार्यक्रममा टुप्लुक्क पुग्छन् । फेरि त्यहाँ पनि उही प्रक्रिया दोहोरिन्छ । अरुको कुरा सुन्नु छैन, आफ्नो सुनायो, कुले हान्यो किनकि उनीहरु आफै जान्ने छन् जसलाई अरुको कुरा सुन्नु परेको छैन । प्रायः दल र जातीय संस्थाबाट आमन्त्रित गरिएका अतिथिहरु पनि सबै कार्यक्रममा एउटै अनुहारका भेटिन्छन् । कुनै कुनै ठाउँमा अनुहार फरक देखिए पनि चेतना उही हुन्छन्, उस्तै विचार ओकल्छन् ।

उनीहरुको कुरा सुनिरहँदा सबैजना बनेको कारखाना एउटै हो कि जस्तो लाग्छ । कार्यक्रममा आउदिन भन्दा पनि धर पाईदैन, जसरी पनि आउनु प¥यो भन्ने आयोजकको लिडे ढिपि हुन्छ । यो चलन आजको मात्र होइन, मलाई सम्झना भएसम्म विगतमा यहि भइरहेको थियो र आज पनि यही नै भइरहेको छ । २०४७ सालमा जनजाति महासंघ गठन भएयता यसले लगभग ८ पटक नेतृत्व परिवर्तन गरिसकेको छ । जातीय संस्थाहरुको पनि थुप्रै नेतृत्व परिवर्तन भए तर जनजातिहरु यसले पो गर्छ कि, त्यसले पो गर्छ कि भनेर पुरानै चेतनाको नयाँ मान्छे छान्दा छान्दा हैरान भइसके, काम नयाँ कहिल्यै आएन । कार्यक्रम उही, नारा उही, समय÷बेला उही, मान्छे उही, बोल्ने÷कराउने शब्द उही, गाउने गीतदेखि नाच्ने ताल उही, कार्यक्रम स्थल पनि उही उही नै हुन्छ । यसले विचार नयाँमा सम्प्रेषित हुन पाएन । पुरानोले जे ग¥यो, नयाँले पनि त्यही गर्नुपर्छ भन्ने मान्यताले जनजाति नेतृत्वको दिल दिमाग र रगतको नशा नशालाई नराम्रोसँग गाँजेको छ । जसले गर्दा यो प्रक्रियाले रक्सी पुरानै बोतल मात्रै नयाँ भन्ने उखानलाई झनै चरितार्थ गरेको छ ।

मैले यो प्रसंग किन जोड्दैछु भने यसबर्ष आयोजना हुन गइरहेको विश्व आदिवासी दिवसको कार्यक्रमहरु पनि पुरानै फ्रेममा आयो जसले आदिवासी जनजाति आन्दोलनमा इँटा थप्ने छैन, बरु अलि अलि बचेको भग्नावशेषहरु पनि भत्काउदैछ । यसले के सङ्केत गर्दैछ भने आठौ राष्ट्रिय महाधिवेशनबाट आएको नयाँ नेतृत्व पनि पुरानैको गोहो पछ्याउदैछ । यसखालको गतिविधिले केही भिन्न परिवेशबाट विकसित भएर आएको नयाँ चेतनालाई पनि डिनर र लञ्च अनि ककटेलले मताएर भद्दा बनाउदैछ । किनकि म आफै पनि जातीय संगठनको अध्यक्ष भएको हैसियतले केही कार्यक्रममा सहभागी छु । त्यस्तो कार्यक्रममा सहभागी भएर म जस्ता अभियन्ताले आजसम्म सिक्ने कुरा पाएको छैन । नजाउ भने रिसाउछन् । यसले नयाँ दिशा समात्ने नभई जडताको जन्जिरमा बाँधेर चौखु¥याउने हुन् कि भन्ने डरले म भयभित हुन्छु । किनकि काठमाडौंको रसमा भुलेपछि जो कोहीले आफ्नो दुनियाँ, कर्मथलो सबै त्यही खाल्डोलाई मात्र ठान्दा रहेछन् ।

कहिलेकाही अलि टाढै गइहाल्यो भने २०, ३० जनाको हुल बाँधेर धुलिखेल रिसोर्ट, लप्सीफेदी र नगरकोट सम्मको यात्रा हुँदो रहेछ । त्यहाँ पनि जनजातिका विज्ञ ज्यूहरुले अंग्रेजीमा पेपर प्रिजेन्टेसन गर्ने, पेपरमै जनजातिलाई सिंहदरवार पु¥याउने र तालीको पर्रा छुटाएर कार्यक्रमको ढर्रा सकाउने गरिदोरछ । आज २३ औ विश्व आदिवासी दिवसको कार्यक्रमसम्म आइपुग्दा यहाँ यस्तै भएको छ । दुनियाँमा शक्ति राष्ट्रहरु आणविक हतियार परिक्षण गरिरहेका छन् तर हामी दिवसको अवसरमा भन्दै बन्दूक मागिरहेका जनजाति युवाहरुलाई धनुकाण र घुयत्रो हान्न सिकाउदैछौ । कुस्ती र छेलोको नाममा आफू आफै जुँधेर पहलमानी देखाउदैछौ । दुनियाँमा त्यस्तो पहिरनको विकास भइसक्यो कि लुगा लगाउदा मान्छे देखिदैन तर हामी परम्पराको नाममा ४ ठाउँ गाँठो कसेको लुगा लगाएर टुँडिखेलमा फुर्तिसाथ नाच्दैछौ । बाहुनले भात÷भान्छा गर्ने बेला लगाउने पोशाक धोती फुकालेर दौरा, सुरुवालमा सजिदै सिंहदरवार खाइसक्यो । तर हामी ३६४ दिन पार्टीको पछि दौडिन्छौ र एकदिन बिछट्टै जनजाति भई टोपल्छौ । राज्यले अछुत बनाएका कामी, दमाई र सार्की आफूलाई दलित भन्न अस्वीकार गर्न थालिसके तर हामी आफूलाई जनजाति भन्दा महान् मान्छे भएको ठान्दन्छौ । हाम्रो संगठनलाई आइपिओज भनेर दाबी गछौ तर कार्यक्रमको शैली एनजिओको कपि गर्छौ । हाम्रो यसखालको गतिविधि र कार्यक्रमले जनजाति कहिले राष्ट्रको रुपमा विकास होला ? मलाई केही समयदेखि यो विषयले दिमाग खाइरहेको छ ।

तसर्थ, मैले गतबर्ष देखि नै उठाउँदै आएको कुरा के हो भने अब जनजाति आन्दोलनको समिक्षाको घडी आयो । किनकि नेपालका आदिवासी जनजातिहरुले विश्व आदिवासी दिवस मनाउन सुरु गरेको दुई दशकभन्दा बढी भइसक्यो । यस बीचमा हामीले के कति काम ग¥यौं ?, के गर्न बाँकी छ ? र अब कसरी अघि बढ्नु पर्ने हो ? तिनलाई केलाउँदै रणनीतिक योजनाका साथ अघि बढे मात्रै लक्ष्यमा पुग्न सकिन्छ । आफूले हिडेको बाटो फर्केर नहेरी सुरुसुरु हिडिरहँदा न भीरको टुप्पोमा पुगेको पत्तो हुन्छ, न घुमिफिरि उही ठाउँमा पुगेको नै पत्तो हुन्छ । मैले भन्न खोजेको क्रान्तिले विकास गरेका प्रक्रियाहरुलाई ठीक ठीक ढङ्गले मूल्याङ्कन गर्दै सही समयमा सही निर्णय गरेर अघि नबढ्ने हो भने यस्ता दिवसहरु जतिपटक मनाएपनि कर्मकाण्डी रुपमा मात्र सीमित हुनेछन् । जहाँसम्म नेपाल आदिवासी जनजाति महासंघले २३ औ बिश्व आदिवासी दिवसको अवसरमा अघि सारेको कार्यक्रमहरुमा म सरिक भइरहँदा त्यो भन्दा भिन्न ठाउँमा पुग्ला भन्ने अनुभूति गर्न सकिएन । जसले गर्दा यतिका बर्षमा पनि आदिवासी आन्दोलन साँस्कृतिक चरणबाट माथि उठ्न सकेको छैन । ‘जति उफ्रेपनि भ्यागुतो भूँईको भूँई’ भने जस्तो २३ बर्षपछि पनि आदिवासीहरु उही ठाउँमा भूइँ खोस्रिदैछन् ।

आफैले खोस्रेको खाल्डोमा आफै फस्दै पनि छन् । फेरि खाल्डोबाट उठ्छन् तर खुट्टा दह्रो नहुँदा फेरि त्यही लड्छन् । उठ्ने र लड्नेको उही प्रक्रिया निरन्तर दोहोरिँदा पनि चेत्दैनन् । सुंगुरले जस्तो कोखामा सुइरो रोपिएपछि चेतिने हुन् कि अगाडि नै हो, त्यसको पनि समय किटान भएको छैन । त्यसैले यस बीचमा जनजातिका नेतृत्वहरु पुरानै प्रहसनमा चलमलाउदा समुदाय चलमलाएन किनकि समुदाय शहरमा छैन, गाउँमा छन् । हाम्रो जनजाति नेतृत्वमा गाउँ जाने हुती (आँट) छैन, कोही जान्छन् तर औशी, पुर्णेमा मात्र । उनीहरु काठमाडौंमा बसेर ऐलान गरेको भरमा पूर्वदेखि पश्चिमसम्मको, हिमालदेखि तराईसम्मको जनजातिहरु जुरुक्कै उठिहाल्नुपर्छ भन्ने मान्यतामा विश्वास गर्छन् । यो त मेरो गाउँको एकजना धामीको जस्तो मान्यता भयो । उसले पल्लो टोलको मुटु दुख्ने बिरामीलाई त्यहाँ जानुको दुःखले घरैबाट मन्त्र पढ्दै लोग्नेमान्छे भए दाहिने घुँडा र आइमाई मान्छे भए देब्रे घुँडा फुक्ने गथ्र्यो । हामी त्यस्तै काम गरिराखेका छौ ।

त्यसैले फेल भइसकेका गतिविधि बाराम्बार दोहो¥याएर समय र जीवन बर्बाद बनाउने काम नगरौ । बरु खोरिया फाड्ने, एउटा दुहुनो भैंसी पालेर गोबर सोहर्ने तिर लाग्यौ भने कम्तिमा परिवारले त दूधभात खाला । म यति दुःखका साथ किन भन्दैछु भने पहिले नै भुत्ते भइसकेको हतियार चलाएर आदिवासी आन्दोलनले राजनीतिक क्रान्तिमा फड्को मार्दैन भन्ने अब घाम जत्तिकै छर्लङ्ग भइसक्यो । सीमित नेतृत्वको गल्तीले गर्न खोज्नेहरु पनि आजित र थकित भइसकेका छन् । अब साँच्चै गर्ने हो भने सत्तालाई धक्का मार्ने काम गर्न सक्नुपर्छ । धक्काको लागि शक्ति निर्माण गर्नु अहिलेको हाम्रो आवश्यकता र वर्तमान क्रान्तिको कार्यभार हुन् । शक्ति गाउँमा हुन्छ, शहरमा हुँदैन । शहरमा त लोभिपापी, दलाली र काइते कुराका तर्कविद्हरु हुन्छन् जसले सत्ताविरुद्ध निर्णायक सङ्घर्ष गर्दैन, थोरै आन्दोलन उठ्ने बित्तिकै सम्झौतामा टुंग्याउछन् ।

 विगतमा शक्ति निर्माण नगरी दुश्मनसँग जोरी खोज्दा हाम्रै मुड्की दोब्रियो । मधेशमा त ठूलै क्षति पनि भयो । अब आफैलाई क्षति हुनेखालको त्यस्तो गल्ती नगरौ । ठोस योजनाका साथ अघि बढौं । परिवर्तन हाम्रै पालामा सम्भव छ । यसमा मैले संसारका धेरै देशमा भएको सफल आन्दोलनहरु मध्ये सन् १९१७ मा सम्पन्न रुसी क्रान्तिको मोडेल र सन् १९४९ मा सम्पन्न चिनियाँ क्रान्तिको मोडेललाई नजिकबाट हेरेको छु । रुसी क्रान्तिको मोडेल शहर कब्जा गरेर गाउँमा क्रान्तिलाई विस्तार गर्ने थियो भने चिनियाँ क्रान्तिको मोडेल गाउँको जनता उठाएर शहरी बिद्रोह गर्ने थियो । हामीले बिगतमा रुसी मोडेलको अभ्यास गरिसक्यौ तर कहिल्यै पनि ५० हजार मान्छे काठमाडौमा उतार्न सकेनौ । यदि सफल भएको भए यो मोडेल छिटो र सजिलो त पक्कै हुन्थ्यो तर भएन । त्यसैले अब हामी चिनियाँ क्रान्तिको मोडेलमा जानुको विकल्प छैन जुन अलि जटिल र घुमाउरो छ । माओले भनेका थिए– गुमनाम आदिवासीको वस्तीमा गएर राजनीतिक प्रशिक्षण देऊ, तिमीलाई कहिल्यै धोका दिने छैन । नेपालमा यही मोडेल सफल पनि भएको छ । माओवादीले यही मोडेलमा १० बर्ष जनयुद्ध लड्यो, आधा जित्यो तर नेतृत्व हतारिदा आधा हा¥यो । पुरै जितेको भए त्यो जनयुद्धका सुप्रिम कमाण्डर प्रचण्ड आज कार्यकारी राष्ट्रपति बन्ने थिए । यसको मतलव फेरि जनजातिले माओवादीको जस्तै हतियार नै बोक्नुपर्छ भन्ने होइन । अबको चेतनालाई फलामको हतियार चाहिदैन, विचारको हतियारले नै लड्नेछन् । त्यसको लागि मसँग सजिलो फर्मुला छ । नेपाल जस्तो सानो देशमा कुनैपनि परिवर्तनको लागि ३ देखि ५ लाख जनताको प्रदर्शन भए काफी हुन्छ । यसको लागि काठमाडौंका सबै आदिवासी जनजाति नेता÷कार्यकर्ताहरु ५ बर्ष गाउँ पस्ने, त्यसक्रममा प्रशिक्षण, भेला, संगठन निर्माणका कार्यक्रमहरु सञ्चालन गर्ने, भ्रम चिर्ने गर्नुपर्छ ।

 निर्णायक आन्दोलनको लागि जनताबाटै एकघर एक रुपैयाँको दरले ५ करोड पैसा सङ्कलन गर्नुपर्छ । त्यसपछि गाउँबाट ३ लाख र शहरबाट २ लाख जनताको शक्ति लिएर ५ दिनमात्रै सिंहदरवार घेरौ । बिद्रोहको क्रममा ५० जनाले बलिदानी दिन (त्यसमा म एकजना तयार) पनि तयार होऔं । यति गर्न सक्यौ भने सम्भवत पाँच दिनभित्रमा नै विना रक्तपात आन्दोलन सफल हुनेछ, यदि शासक ओली जस्तो कठोर बोलीका प¥यो भने बढीमा १० दिनसम्म लम्बिन सक्छ । अबको बिद्रोह गुरिल्ला ढंगले बर्षौबर्ष लड्नु पर्दैन । होइन भने साथीहरु आन्दोलनको नाममा अब दलाली नगरौ । दलाली राजनीतिको समयसीमा समाप्त भयो । जनजाति महासंघको विगतको नेतृत्वले जुन दलाली गरेर सांसदको लोगो भि¥यो, त्यसले आदिवासी आन्दोलनमा पुर्न नसकिने एउटा डरलाग्दो खाडल परेको छ । यो खाडलले गर्दा अहिले पाएको अधिकार समेत खोसिने क्रम छ । समयमै खाडल पुर्न सकिएन भने अझै अरु अधिकार खोसाएर आदिवासी जनजातिहरु नाङ्गेझार हुनुपर्ने दिन आउन सक्छ ।

त्यसैले सचेत होऔ । हाम्रो पुस्तालाई परिवर्तनको निर्णायक लडाइँ लड्ने ऐतिहासिक अवसर प्राप्त भएको छ । यसमा सबैले गर्व गरौ । यो गर या मर को स्थिति हो । सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालमा आन्तरिक उपनिवेशको शिकार भएर बाँच्ने जीवनको कुनै अर्थ छैन । नालीमा थुतुनो जोतिएर मर्नुभन्दा दुश्मनसँग लडेर मर्नुको आनन्द छुट्टै हुन्छ । सडकमा पाँच लाख मान्छे उतार्न नसक्ने हामी हुतिहाराहरुले पार्टी प्यालेसको कार्यक्रममा ५० जना मान्छे भेला पारेर ठूलो कुरा गर्दा दुनियाँले कुरिकुरि गरिसक्यो । मलाई त लाज भइसक्यो । नेताज्यूहरु, अब भाषण होइन, काम गर्नु प¥यो । अब पनि नेपालको सन्दर्भमा असफल सावित भइसकेको रुसी मोडेलबाट गयौ भने सत्तालाई जिस्क्याउने भन्दा अरु कुनै काम हुने छैन । जति जिस्क्याइयो त्यति नै केपी ओलीको राष्ट्रवादी बुख्याँचाले हामीलाई तर्साइरहनेछ । त्यस्ता बुख्याँचाबाट तर्सिएर भाग्ने आदिवासी जनजातिले सत्ताको बाली खान कहिल्यै सक्ने छैन ।

 पञ्चायतकालमा यस्ता बुख्याँचा बनाइदैनथ्यो, किनकि त्यसबेला राजा स्वयंलाई बिष्णुको अवतार र राष्ट्रियताको प्रतिकको रुपमा प्रचार गरिन्थ्यो । त्यसताका जनताको चेतनास्तर ज्यादै निम्छरो थियो, उनीहरु भौतिकवादी थिएनन्, अलौकिक अध्यात्मवादी हुँदा त्यस्ता कुरामा सहजै विश्वास पनि गर्थे । आज प्रतिकको रुपमा उभ्याउने त्यस्ता जीवित पात्र छैनन्, त्यसैले ओलीहरुले त्यस्तै रुपरेखाको बुख्याँचा खडा गरेका छन् । नाजी तानाशाह हिटलरले पनि यस्तै ढंगबाट राष्ट्रवादको उग्र नारा लाउथे । अन्ततः त्यो फासिवादमा पुगेर टुंगियो । दार्जिलिङका जनता आज ममता बेनर्जीको गोली खादैछन्, त्यो गोली खाइसकेको दिन ममतालाई पनि खानेछ । तर शासकहरु सत्ताको उन्मादमा यो थाहा पाउदैनन् । त्यो बेला थाहा पाउछन् जुनबेला इरानका राजा रेजा पल्लवीको हाल भइसकेको हुनेछ ।

बाह्य राष्ट्रवादको हाउगुजी देखाएर, आन्दोलनबाट प्राप्त उपलब्धिलाई अतिरञ्जित ढंगबाट ब्याख्या गर्ने र जनतामा भ्रम छर्नेको भविष्य हुँदैन । जुन दिन जनताले बुख्याँचा पराल र थोत्रे कपडा बेरेर बनाइएको हो भन्ने थाहा पाउनेछन्, त्यो दिन यो नश्लवादी सत्ता तासको महल झैं ढल्नेछ र सोही दिनबाट नेपाल नयाँ युगमा प्रवेश गर्नेछ । फ्रान्सेली बिद्वान भिक्टर ह्युगोले भनेका थिए— “दुनियाँको ठूलो भन्दा ठूलो तागतले पनि त्यस बिचारलाई रोक्न सक्ने छैन, जसको समय भइसकेको हुन्छ” । त्यसैले यसको पनि समय नजिक आइसक्यो । एकीकृत जनक्रान्तिको लागि वस्तुगत परिस्थितिहरु निर्माण हुँदैछन् तर हाम्रै आत्मगत पक्षहरु कमजोर हुँदा त्यो प्रक्रियाको गति अलि धिमा देखिन्छ । अब शिकारीहरु मात्र होइन, शिकारहरु पनि मिल्ने बेला आयो । २३ औं विश्व आदिवासी दिवसले सबै जनजाति नेतृत्वलाई यहि नयाँ आन्दोलनको नयाँ बाटोमा डो¥याउन सफल होस्, मेरो शुभकामना ।
(लेखक नेपाल तामाङ घेदुङका केन्द्रीय अध्यक्ष हुन्)



कमेन्टसहरु



हाम्रो वारे

ल्हासो/फ्याफुल्ला ।
ग्रेटर ताम्सालिङ् मिडिया प्रालिद्वारा संचालित रेडियो ताम्सालिङ अनलाईन नेपालकै पहिलो तामाङ भाषाको अनलाईन रेडियो हो । स्वदेश र विदेशमा बस्ने केही तामाङ यूवाहरुको पहलमा तामाङ गीतसंगीत,तथा म्युजिक भिडियो गीत,सस्कार संस्कृतिको जगेर्ना गर्ने,तामाङको पहिचानका लागि आवाज उठाउने उदेश्यले यो अनलाईन संचालनमा आएको हो ।

ग्रेटर तामसालिङ मिडिया प्रा.लि.

रेडियो तामसालिङ अनलाईन, हेटौंडा
हेटौंडा उपमहानगरपालिका - ४
पारिजात पथ,शितलमहल चोक, हेटौंडा
फोन : ९८५५०७२८९०, ९८४५५१३७८९
http://www.radiotamsaling.com
Email: radiotamsaling@gmail.com


388099 Times Visited.

संचालन तथा प्रायोजनको हक सर्बाधिकार © ग्रेटर तामसालिङ्ग मिडिया प्रा.लि., हेटौंडा २०७३ मा सुरक्षित रहनेछ ।
Powered by :
Top