Radio Tamsaling - Radio Tamsaling - The First Online Radio and News Portal of Tamang Language

अन्तरवार्ता

ताम्सालिङ खबर अन्तरवार्ता

चलचित्र 'घामपानी'को प्रस्तुति शैली मुख्य आकर्षण हो

तामसालिङ खबर नयाँ वर्षको छेको पारेर वैशाख १ गते चलचित्र पत्रकार तथा समीक्षक दीपेन्द्र लामाको चलचित्र ‘घामपानी’ रिलिज हुँदैछ ।

 आफैं कडा समीक्षा लेख्दै आएका लामाले निर्माण गरेको चलचित्र कस्तो होला भन्ने कौतूहल उनका पाठक र दर्शकमा छ । नेपाली चलचित्रका लागि पुरानै विषयवस्तु अर्थात् अन्तरजातीय विवाहको कथालाई मुख्य कथानक बनाएका लामासँग ‘घामपानी’ का विषयमा केन्द्रित रहेर गरिएको कुराकानी ।

केमा व्यस्त हुनुहुन्छ ? 

चलचित्र ‘घामपानी’ कै पोस्ट प्रोडक्सनमा समय दिइरहेको छु । ब्याकग्राउन्ड म्युजिक, कलर ग्रेडिङ अनि साउन्डको काम भइरहेको छ । चलचित्र प्रदर्शनको समय नजिक आएकाले यसको प्रचारप्रसारमा हिँडिरहेको छु । 

तपाईं आफै पनि पत्रकार भएका हिसाबले पब्लिसिटीमा त सजिलो भइरहेको होला नि ?
न्युज पब्लिसिटीमा केही सजिलो भइरहेको छ । तर, विज्ञापनमा भने केही समस्या छ । ठूलो बजेटमा चलचित्र नबनेकाले पनि विज्ञापनमा पर्याप्त खर्च गर्न सकिएको छैन । 

चलचित्रको पब्लिसिटीका लागि पैसा नै मुख्य साधन हो कि समाचारको कभरेज मुख्य हो ?

समाचार पनि महत्त्वपूर्ण हुन्छ । तर सञ्चार माध्यममा आउने कुरालाई सबैले हेर्छन् या पढ्छन् भन्ने छैन । त्यही भएर फिजिकल एडभरटाइजिङ पनि आवश्यक हुन्छ । 

चलचित्र ‘घामपानी’ कस्तो खालको चलचित्र हो ? 
‘जानरा’ लभ स्टोरी ड्रामा हो । विषयवस्तु अन्तरजातीय विवाहको हो । एउटा संस्कृतिले अर्को संस्कृतिलाई सम्मान गर्नुपर्छ भन्ने सन्देश यो चलचित्रले दिन खोजेको छ । 

विषयवस्तुका हिसाबले त चलचित्र नयाँ होइन नि, कि कसो ?

हो, विषय पुरानै हो । 

त्यसो भए दर्शकहरू हलसम्म किन जाने ?

विषय पुरानो भए पनि यसको प्रस्तुति फरक छ । प्रस्तुतीकरण नै मेरो चलचित्रको मुख्य आकर्षण हो । दर्शकले चलचित्र हेर्ने भनेको विषयवस्तुका लागि मात्रै होइन, प्रस्तुतिका लागि पनि हो । चलचित्रमा विषयवस्तु मात्रै हेर्ने हो भने मुनामदन, मसान, तीनघुम्ती र झोलालगायतका कृतिमा पनि चलचित्र बनेका छन् । समर लभमा चलचित्र बन्दैछ । यी चलचित्र पनि हेरिए । यी चलचित्रको प्रस्तुतीकरण कस्तो छ भनेर हेरिएका हुन् भन्ने कुरा बुझ्नुपर्छ । हलिउडमा स्पाइडर म्यान नै धेरै पटक बनिसकेको छ । यसर्थ विषयसँगै प्रस्तुतीकरण पनि मुख्य पक्ष हो । निर्देशकको मौलिकता के छ रु कलाकारको अभिनय कस्तो छ रु यी कुराहरू पनि दर्शकले हेर्छन् जस्तो लाग्छ । 

तपाईं आफैं अरूको चलचित्र यस्तो भएन, उस्तो भएन भनेर लेख्ने पत्रकार, अब अरूले तपाईंको चलचित्रको खोट खुट्याउँदैछन् । कत्तिको चुनौती महसुस गर्नुभएको छ ?

मलाई थोरै डर पनि लागिरहेको छ । साथीहरूले अपेक्षा बढी गर्नुभएको छ । मलाई फलो गर्ने पाठकहरूले पनि अलि धेरै अपेक्षा गर्नुभएको छ । 
अरूका चलचित्रबारे कडा टिप्पणी गर्दै आएको छु । कमीकमजोरी केलाउँदै आएको छु । त्यसैले पनि यसले बनाएको चलचित्र कस्तो होला भन्ने उत्सुकता सबैलाई छ । यसले बनाएको चलचित्र राम्रो हुनुपर्छ भन्ने छ । उहाँहरूको त्यो अपेक्षा पूरा भएन भने अप्ठ्यारो पर्छ कि भन्ने डर छ । 

अहिलेसम्मको कामका आधारमा आफैंले समीक्षा गर्दा कस्तो चलचित्र बनाए जस्तो लाग्छ ?
मैले गालीचाहिँ खादिनँ कि जस्तो लाग्छ । ट्रेलर र गीतले चलचित्रबारे एक खालको ह्विम ल्याएको छ । हेर्नैपर्ने चलचित्रको सूचीमा मेरो चलचित्र पनि परिसकेको छ । ‘पन्छी’ गीत भाइरल नभए पनि एभरेजमा राम्रो लोकप्रियता कमाइरहेको छ । ट्रेलर पनि मन पराइएको छ । 

तर, पछिल्लो समय जुन चलचित्रका गीत हिट भए, ती चलचित्र भने मन पराइएनन् नि ?

गीत हिट हुनु र चलचित्र राम्रो बन्नु अलग कुरा हुन् । राम्रो गीत हुँदैमा चलचित्र राम्रो हुन्छ भन्ने छैन । गीत हिट भयो भने दर्शक हलसम्म पुग्न सक्छन् । तर अन्ततः दर्शकलाई होल्ड गर्न चलचित्र नै राम्रो हुुनुपर्छ । 

चलचित्रको समीक्षा गर्न र बनाउन कुन गाह्रो हुँदो रहेछ ?

चलचित्रको समीक्षा गर्नु पनि सजिलो काम होइन । यसमा लेखन कलासँगै चलचित्रबारे जानकारी हुनुपर्छ । सैद्धान्तिक पक्ष र व्यावहारिक पक्ष दुबैबारे अभ्यस्त हुनुपर्छ । चलचित्रको ट्रेन्ड बुझ्ने सामथ्र्य हुनु्पर्छ । 

तर, योभन्दा मेरो सन्दर्भमा गाह्रो काम निर्देशन गर्नु नै रह्यो । किनभने मेरा लागि यो पहिलो चलचित्र थियो । नसोचेको कठिनाइ पनि सामना गर्नुपर्यो । सोचेको भन्दा कठिन नै छ । मैले दोस्रो चलचित्र बनाउन थालें भने अझै अध्ययन गरेर अगाडि बढ्नुपर्छ ।

निर्देशकको आँखाले हेर्दा अहिले नेपालमा बनिरहेका चलचित्रको गुणस्तरप्रति सन्तुष्ट हुने ठाउँ रहेछ त ?

नेपालमा चलचित्र बन्नु नै ठूलो कुरा हो । अभावको समयमा पनि चलचित्र बनिरहेका छन् । ९० प्रतिशत चलचित्र घाटामा गइरहेको अवस्थामा पनि नयाँ–नयाँ निर्माता तथा निर्देशक आउनु आफैंमा राम्रो पक्ष हो । 

भनेपछि समीक्षकले यहाँको वास्तविक धरातल नबुझी समीक्षा गरिरहेका रहेछन् ?

 हैन, मैले त्यसो भनेको छैन । समीक्षकले चलचित्र कहाँ बनेको, के अभाव थियो, बजेट कति थियो भनेर समीक्षा गर्न बस्ने होइन । उसले चलचित्रको कुन पक्ष राम्रो छ र कुन पक्ष कमजोर छ स्पष्ट भन्नुपर्छ । उसको आँखाले चलचित्र राम्रो बन्नुपर्छ भनेर हेर्ने हो । जस्तो छ, त्यो यथार्थ लेख्ने हो । 
निर्देशकले चलचित्र बनाउँदा बजेट अभाव भयो, कलाकार राम्रो भएन, लोकेसन भएन भनेर क्षमा पाउँदैन । जसरी हुन्छ, उसले राम्रो चलचित्र बनाउने हो । 

म समीक्षा गर्थें । अहिले निर्देशन गरें । ‘ओहो, चलचित्र बनाउन गाह्रो रहेछ’ भनेर अब चलचित्रको समीक्षा गर्दा अलि नरम हुनुपर्छ भन्ने मलाई लागेको छैन । तथ्य बाहिर आउनैपर्छ । चाहे त्यो मेरो चलचित्रको होस् या अरू चलचित्रको होस् । 

पत्रकारिता गर्दागर्दै कसरी निर्देशक हुनुभयो ? 

मलाई बच्चैदेखि चलचित्रप्रति रुचि थियो । मैले पत्रकारिताको सुरुआत नै चलचित्र पत्रकारिताबाट गरेको हुँ । पछि समीक्षा गर्न थालेँ । चलचित्रसम्बन्धी ज्ञान बढाउनुपर्छ भन्ने लाग्यो र नयाँ–नयाँ अनि राम्रा–राम्रा चलचित्र खोजेर हेर्न थालें । चलचित्रमा अझै ज्ञान बढाउनका लागि मैले चलचित्र निर्देशन गर्नुपर्छ भन्ने लाग्यो । चलचित्र निर्माणको प्रोसेसभित्रै पसेपछि अझै एक चरणको ज्ञान थपिन्छ भन्ने लाग्यो । पत्रकारको बेन्चबाट सिक्न नसकेका कुराहरू सिक्न सकिन्छ कि भनेर पनि निर्देशनमा हात हालेको हुँ । 

निर्देशनले अब निरन्तरता पाउँछ कि ‘घामपानी’ नै पहिलो र अन्तिम चलचित्र हो ? 
म अब अरू चलचित्रको पनि निर्देशन गर्छु । यो नै पहिलो र अन्तिम होइन । 

नेपालमा राम्रा चलचित्र बनेनन् भनेर सधैँ टिप्पणी भइरहन्छ । कारण के रहेछ ?  

गर्न सकिने मेहनत पनि नगर्नु एउटा कारण हो भने अर्को पक्ष कामलाई गम्भीर रूपमा नलिनु पनि हो । चलचित्र भनेको बायाँ हातको खेल हो भन्ने हाम्रो सोचाइ छ । तर चलचित्र बनाउन निकै गाह्रो छ । व्यावहारिक र सैद्धान्तिक ज्ञान चाहिन्छ । प्यासन र टिम वर्क चाहिन्छ । 

कति निर्देशकमा सैद्धान्तिक ज्ञान छ, तर जीवनका उकाली– ओरालीका तीतामीठा अनुभव उसले सँगालेको हुँदैन । तर, यो पनि चाहिन्छ । यसले परिपक्व बनाउँछ । जीवनभोगाइ हुनेसँग सैद्धान्तिक ज्ञान हुँदैन । यसले पनि भनेजस्तो चलचित्र बन्न सकिरहेको छैन ।

लिड रोलमा रहेका कलाकार काठमाडौंमा छैनन् । प्रचारमा उनीहरूको अभाव खड्किरहेको छ होला, हैन र ?

केकी अधिकारी अस्ट्रेलियामा र दयाहाङ राई भोजपुरमा भएकाले निश्चय नै अभाव महसुस भएको छ । उनीहरू भएको भए केही सजिलो हुन्थ्यो । तर केकी वैशाखको दोस्रो साता र दयाहाङ अबको केही दिनमै आउने भएकाले सहज नै होला । उनीहरूलाई सञ्चारमाध्यमले खोजिरहेका छन् । 
नाम चलेको स्टार कलाकारलाई लिँदाको बेफाइदा पनि यही हो । भनेको बेलामा उनीहरू उपलब्ध हुँदैनन् । प्रोमोसनमा असर देखिन्छ ।

एउटा चलचित्रमा अनुबन्धित भइसकेपछि त्यो रिलिज नहुञ्जेलसम्म अर्कोमा काम गर्न नपाइने प्रणालीको आवश्यकता महसुस भएको छैन, निर्माता निर्देशकलाई ?

नेपालमा अहिले नै त्यो अवस्था आउन सक्दैन । थोरै बजेटमा चलचित्र बनाउनुपर्छ । भनेजस्तो पारिश्रमिक कलाकारलाई दिन सकिँदैन । नाम चलेको स्टार कलाकारले पनि दुई–तीनवटा चलचित्र गरेर स्टान्डर मेन्टेन गर्न सक्तैन । उसले कम्तीमा पनि पाँच÷छवटा चलचित्र गर्नैपर्ने बाध्यता छ । त्यसैले नेपालमा तत्काल यो सम्भावना देखिँदैन । 

सम्बन्धित शिर्षक समाचारहरु


हाम्रो वारे

ल्हासो/फ्याफुल्ला ।
ग्रेटर ताम्सालिङ् मिडिया प्रालिद्वारा संचालित रेडियो ताम्सालिङ अनलाईन नेपालकै पहिलो तामाङ भाषाको अनलाईन रेडियो हो । स्वदेश र विदेशमा बस्ने केही तामाङ यूवाहरुको पहलमा तामाङ गीतसंगीत,तथा म्युजिक भिडियो गीत,सस्कार संस्कृतिको जगेर्ना गर्ने,तामाङको पहिचानका लागि आवाज उठाउने उदेश्यले यो अनलाईन संचालनमा आएको हो ।

ग्रेटर तामसालिङ मिडिया प्रा.लि.

रेडियो तामसालिङ अनलाईन, हेटौंडा
हेटौंडा उपमहानगरपालिका - ४
पारिजात पथ,शितलमहल चोक, हेटौंडा
फोन : ९८५५०७२८९०, ९८४५५१३७८९
http://www.radiotamsaling.com
Email: radiotamsaling@gmail.com


388103 Times Visited.

संचालन तथा प्रायोजनको हक सर्बाधिकार © ग्रेटर तामसालिङ्ग मिडिया प्रा.लि., हेटौंडा २०७३ मा सुरक्षित रहनेछ ।
Powered by :
Top