Radio Tamsaling - Radio Tamsaling - The First Online Radio and News Portal of Tamang Language

विचार/विश्लेषण

ताम्सालिङ खबर विचार/विश्लेषण

रेडियोमा तामाङभाषा कार्यक्रमको बिगत र वर्तमान अवस्था

परिचय मानिसलाई कुनै पनि विषयको सूचना, मनोरन्जन, उत्प्रेरणा र ज्ञान दिने भनेको आमसञ्चार हो । त्यसमा पनि बढी अहिले विभिन्न माध्यमहरु आए पनि रेडियो लोकप्रिय र धेरैको पहुँच सहज रुपमा हुने माध्यम हो ।
गाउँदेखि सहरसम्म बसोबास गरेका जो कोहीले सस्तो मै उपलब्ध हुने रेडियो सेट तथा मोबाइलमा सुन्न सकिने हुनाले रेडियो सुन्छन् । अझ रेडियोमा आफ्नै भाषा बोल्न थाल्यो भने कानै ठाडो पारी सुनेको हामीले पाउन सकिन्छ । काठमाडौ र मोफसलमा धेरै रेडियोहरु खुल्न थालेपछि त्यसमा विभिन्न भाषाहरुले पनि केही मात्रमा भएपनि ठाउँ पाएका छन् । तामाङ भाषाले पनि धेरै रेडियोहरुमा ठाउँ र तामाङ पत्रकारहरुले अवसर पाएका छन् । कुन कुन रेडियोमा तामाङ भाषामा कार्यक्रम छन् ? कत्तिजना तामाङ रेडियो पत्रकारहरु खटिएका छन् ? यकिन नभएकोले यिनै खुल्दुलीलाई मेटाउने प्रयासमा रेडियोमा प्रसारित कार्यक्रमहरुको अध्ययन गरिएको छ । करिब तीन महिनाको अध्ययनबाट प्राप्त प्रतिवेदनलाई लेखको रुपमा प्रस्तुत् गरिएको हो ।

उद्देश्यहरु
हामीले सुनेको रेडियो कार्यक्रमबाट धेरै नयाँ कुराहरु थाहा पाउँछौ । सिक्छौ । अरुलाई सुनाउछौं । तर त्यो कार्यक्रम कसरी सन्चालन भइरहेका छन् ? कस्तो खालको कार्यक्रम हो ? कहिले कुन समयमा आउँछ । कुन कुन विषयवस्तु कार्यक्रममा समावेश गरिन्छ । त्यसमा प्रयोग गरिएको भाषा शैलीहरु कस्तो छ ? जुन उदेश्यले सन्चालन गरेको हो त्यसो गर्न सकियो कि सकिएन ? तामाङ समुदायमा कस्तो प्रभाव रह्यो ? कार्यक्रम सन्चालन गर्ने प्रस्तोता कत्तिको सन्तुष्ट छन् ? र किन ? यी कुराहरु पत्तालाउने र तामाङ समुदायमा पुर्याउने उदेश्यले यो लेख तयार गरेको हो ।

ऐतिहासिक पृष्टभूमि

नेपालमा पहिलो पटक वि.सं.२००७ सालमा रेडियो नेपालको स्थापना भएको हो । जुन नेपाल रेडियो नामले चिनिन्थ्यो । अझ त्यस भन्दा पहिले प्रजातन्त्र नेपाल रेडियो भनिन्थ्यो । रेडियो नेपालले नेपाली र अंग्रेजी भाषामा समाचार तथा विभिन्न कार्यक्रमहरु प्रसारण गरिन्थ्यो । पछि आएर विभिन्न भाषाको गीत संगीतहरु पनि फुलबारी कार्यक्रमबाट साप्ताहिक रुपमा प्रसारण शुरु गरेको थियो । त्यही समयमा धेरै तामाङ कलाकारहरुले पनि गीत संगीत प्रस्तुत् गरेका थिए । २०५१ साल देखि भने रेडियो नेपालबाट विभिन्न भाषामा समाचार प्रसारणको थालनीसंगै तामाङ भाषाले पनि रेडियोमा अवसर पायो । जुन बेला अमृत योन्जन, ध्यानबहादुर मोक्तान र रमिता बलले दैनिक ५ मिनेटको समाचार वाचन गर्नुभएको थियो । उक्त समय देखि नै तामाङ जातिको रेडियो पत्रकारिता शुरु भएको हो । समाचार प्रसारणको २ वर्ष पछिदेखि रेडियो नेपालबाटै स्ह्याल्गार नामक तामाङ भाषाको कार्यक्रम शुरु भयो । साप्ताहिक रुपमा रेडियो नेपालबाट प्रसारण भएको स्ह्याल्गार नै सिङ्गो तामाङ जातिको पहिलो रेडियो कार्यक्रम थियो । जुन आज सम्म प्रसारणमा छ ।    

त्यसपछि निजी क्षेत्रबाट २०५४ सालमा रेडियो सगरमाथा सञ्चालनमा आयो । निजी क्षेत्रबाट २०५४ सालमा एफएम रेडियो प्रसारणको सुरुवात भएसँगै ६० को दशकमा ती एफएम रेडियोको सङ्ख्यामा अत्याधिक वृद्धि भएको सञ्चार मन्त्रालयको तथ्याङ्कबाट देखिन्छ । हरेक समुदायलाई पूर्ण मनोरन्जन दिने उदेश्यले सन्चालनमा आएको एफएम रेडियो शुरुवात भएपछि काठमाडौ महा नगरपालिकाले स्थापना गरेको मेट्रो एफ.एम.बाट तामाङ भाषाको कार्यक्रम नाङसाल नेपाल तामाङ घेदुङको पहलमा दैनिक रुपमा प्रसारण शुरु भयो । जुन आज सम्मै निरन्तरता छ । त्यसपछि रेडियो एच.बि.सि.मा साप्ताहिक रुपमा ह्याङला डाजाङ र तामाङ न्हान नामक तामाङ भाषामा कार्यक्रमको सन्चालन भएको थियो । जुन केही वर्ष पछि बन्द भयो । त्यसैगरी तामाङ डाजाङ साहित्यिक संस्थाको पहलमा दक्षिण एसियाकै पहिलो सामुदायिक रेडियो, रेडियो सगरमाथाबाट २०६१ सालको प्रारम्भसंगै साप्ताहिक रुपमा तामाङ काइ नामक रेडियो पत्रिकाको शुरुवात भएको थियो । जुन आज सम्म निरन्तरता छ । त्यसैगरी जनयुद्धका बेला तात्कालीन नेकपा माओवादीले सन्चालन गरेको डोको रेडियोमा पनि तामाङ भाषाको कार्यक्रम सन्चालन भएको थियो । यसरी तामाङ भाषाको रेडियो कार्यक्रमको इतिहासलाई फर्केर हेर्दा बहुदलीय व्यवस्था पुनस्थापनापछि दोस्रो जनआन्दोलन सम्ममा रेडियो नेपालबाट १ र एफएम रेडियोबाट ५ वटा तामाङ भाषामा कार्यक्रमहरु सन्चालन भएको देखिन्छ । जसमा रेडियो नेपाल, मेट्रो एफएम र रेडियो सगरमाथामा प्रसारण हँुदै आएको कार्यक्रमहरु हाल सम्म निरन्तर प्रसारणमा रहेका छन् ।

वर्तमान अवस्था
जनयुद्ध र २०६२/०६३ आन्दोलनले नेपालमा गणतन्त्र स्थापना गरेपछि काठमाडौं उपत्यका लगायत देशैभर नै एफएम रेडियोको बाढी नै आयो । सूचना तथा सञ्चार मन्त्रालय श्रव्यदृश्य प्रसारण शाखाका अनुसार २०७३ असार मसान्तसम्ममा ६ सय ३८ एफएम रेडियोले सञ्चालनका लागि अनुमति पत्र लिएका छन् । तीमध्ये ५ सय ४७ रेडियो नियमित सञ्चालनमा रहेका छन् । बाँकी ९१ एफएम रेडियोहरू सञ्चालनमा आएको देखिदैन । उपत्यका बाहेकका जिल्लाहरुमा एउटै जिल्लामा पनि कम्तिमा तीन देखि १० वटा सम्म रेडियो सन्चालनमा छन् भने अझै खोल्ने क्रममा छन् । केही त सन्चालन भएर पनि बन्द भएका देखिन्छन् । केही रेडियो तामाङ समुदायले नै स्थापना गरी सन्चालन गरिरहेका पनि छन् । र तामाङ अनलाइन रेडियो पनि केही ठाउँमा शुरुवात भएको छ ।  

रेडियोमा कार्यरत तामाङ पत्रकार तथा सन्चारकर्मीहरुले विभिन्न विषयवस्तुहरुमा धेरै किसिमका कार्यक्रमहरु उत्पादन गरी विभिन्न रेडियोमा प्रसारण गरिरेका छन् । जसमा दैनिक र साप्ताहिक रहेका छन् । दैनिक कार्यक्रममा चेतनामुलक सामग्री भन्दा बढी सूचना, मनोरञ्जनात्मक र एउटै विषयमा केन्द्रीत छन् । प्रायजसो यस किसिमको कार्यक्रम व्यवसायिक रेडियोहरुमा प्रसारणमा छन् । साप्ताहिक कार्यक्रममा चेतनामुलक वा ज्ञानबद्र्धक र गतिविधिका सामग्रीहरु धेरै हुन्छन् र विषयवस्तु पनि फरक फरक रहेका छन् । यसलाई रेडियो बृत्तचित्रको रुपमा पनि लिन सकिन्छ । प्रायजसो यस किसिमको कार्यक्रम समुदायको हितको लागि खोलिएको सामुदायिक रेडियोहरुमा प्रसारणमा छन् ।

अहिलेको यो समयमा रेडियो नेपाल र २८ वटा एफएम रेडियोहरुमा तामाङ भाषा प्रसारण भएपनि २ वटामा समाचार मात्र प्रसारण भएको देखिन्छ । जहाँ सबैगरी ३३ वटा कार्यक्रमको नाम र ४८ वटा कार्यक्रम सन्चालन भएका छन् (अनुसुची–१ हेर्नुहोला) । भने ८ वटा रेडियोबाट दैनिक तामाङ भाषामा समाचार प्रसारण भएको देखिन्छ (अनुसुची–२ हेर्नुहोला) । त्यसमा ३ वटा कार्यक्रम रेडियो पत्रिका देखियो । २ वटा कार्यक्रमलाई संस्थाले प्रायोजन गरेको देखिन्छ । ४ वटा कार्यक्रमले समय खरिद गरेर सन्चालन गरेका छन् । बाँकी कार्यक्रमलाई रेडियोबाट निसुल्क समय दिएको अध्ययनले देखाएको छ । यसरी विभिन्न १८ वटा जिल्लामा रहेको रेडियोहरुमा तामाङ भाषा प्रसारण समयलाई हेर्ने हो भने १ हप्तामा ४२ घण्टा ३५ मिनेट कार्यक्रममा र १ घण्टा ४० मिनेट १ दिनमा तामाङ भाषाको समाचारलाई समय छुट्याएको देखिन्छ । जहाँ १९ जना महिला र २५ जना पुरुष गरी ४४ जना तामाङ रेडियो पत्रकारहरुको सहभागिता रहेको देखिन्छ (अनुसुची- ३ हेर्नुहोला) । जसमध्ये १५ जना रेडियोकै कर्मचारीको रुपमा छन् । १० जनाले कार्यक्रम सन्चालन गरेबापत यातायात खर्च पाउँछन् । ५ जनाले आफूले विज्ञापन खोजेर रेडियोलाई दिए बापत २५ देखि ५० प्रतिसत सम्म खर्च पाउँने गरेको पाइएको छ भने १४ जना पूर्ण स्वंयसेवकको रुपमा कार्यक्रम सन्चालन गरेको देखिन्छ । राम्रो कुरा चाही यो छ कि ४४ जना पत्रकार मध्ये ६ जनालाई मात्र सन्तुष्ट छैन कार्यक्रम चलाए वापत बाँकी सबै सन्तुष्ट नै बताउछन् ।  

रेडियो कार्यक्रम भनेको शक्तिवान हुन्छ । क्षणिक समयमा नै यसले ठूलो प्रभाव पार्न सकिन्छ । यसले मुख्यगरी मानिसलाई चेतना स्तर नै बढाउने हो । सूचना, ज्ञान र उत्प्रेरणात्मक कार्यक्रमहरु प्रसारण गरी समुदायलाई सचेत गर्ने नै हो । त्यत्तिमात्र नभइ गीतसंगीतको माध्यमबाट श्रोतालाई भरपुर मनोरन्जन दिइ कलाकारहरुलाई पनि प्रोत्सहन गर्ने हो । अहिले हाम्रो समुदायमा प्रसारण हुँदै आएको कार्यक्रमहरुले समाज परिर्वतनका लागि ठूलो भूमिका खेलिरहेको छ । र पनि हाम्रो समुदायको जीवनस्तर, चेतनास्तर, संलग्नता, लगायतका विषय वस्तुहरुलाई कार्यक्रम प्रस्तोताहरुले कत्तिको उठान गर्न सक्यो भन्ने पनि हो ।

मेरो अध्ययन अनुसार संस्कार संस्कृति र धर्मसंग सम्बन्धित २८ वटा कार्यक्रममा समाबेस् भएको देखिन्छ । सबैभन्दा बढी ३३ वटा कार्यक्रम गीतसंगीतको मात्रै रहेका छन् । समसमायिक विषयमा १८ वटा, विविध विषयमा श्रोता सहभागिता १७, साहित्यमा १४, राजनीतिमा १३, शिक्षा र महिला विसेस ७÷७, भाषा सम्बन्धी ४, बालबालिका, सन्चार, चलचित्र र क्वीज् ३÷३, थाङ्कु, कृषि, स्वास्थ्य र नाटक १÷१ वटा कार्यक्रममा समाबेस् भएको देखिन्छ ।

उपलब्धी
हिजो (पन्चायत काल) को समय तामाङ भाषाले रेडियो प्रसारणमा कुनैपनि ठाउँ नपाए पनि बहुदलीय व्यबस्था र लोकतन्त्रिक गणतन्त्र पछि भने यसले केहीमात्रमा भएपनि स्थान पाएको छ । गुणात्मक जे जस्तो भएपनि संख्यात्मक पक्षलाई हेर्दा हामीले केही हदसम्म सन्तुष्टि नै लिनु पर्दछ । शिक्षा र चेतनामूलक कार्यक्रमको संख्या कम भएपनि संस्कार संस्कृति र मनोरन्जनात्मक कार्यक्रमको संख्या भने धेरै रहेका छन् । तामाङ भाषाको रेडियो कार्यक्रम अध्ययनले पाएका  उपलब्धीहरुलाई बँुदागत रुपमा राखिएको छ ।

१. तामाङ भाषामै सूचना, कार्यक्रम र समाचार सुन्न पाउनु ।
२. विभिन्न गाउँका तामाङ भाषा र साहित्यलाई रेडियो कार्यक्रमबाट सुन्न पाउनु ।
३. २०५१ देखि २०७३ मंसिर सम्ममा तामाङ भाषाको रेडियो कार्यक्रम रेडियो नेपाल सहित २९ वटा रेडियोबाट ४८ वटा कार्यक्रम र ८ वटा समाचार प्रसारण भइरहेका छन् ।
४. ४१ जना रेडियो पत्रकार माध्ये धेरैले पेशागत रुपमै अंगाल्न सफल भएका छन् ।
५. रेडियो कार्यक्रमले गर्दा नै मौलिक फापरे गीत, विवाह र छेवारमा ताम्बाले गाउँने गीत देखि संस्कार संस्कृति, धर्म, भाषा जस्ता तामाङ पहिचान युक्त गीत संगीतको बृद्धिमा टेवा पुगेको छ ।
६. तामाङ पछि परेका कारण, आफ्नो अधिकार, आफु जन्मेको भूमि, गाउँ ठाउँ देखि ताम्सालिङ निमार्णका लागि जागरुक हुनुपर्ने सम्मको समुदायमा, चेतना स्तरको बृद्धिमा टेवा पुगेको छ ।
७. तामाङ रेडियो पत्रकार भएकैले पनि विभिन्न पुरस्कार सहित विभिन्न स्थानबाट सम्मानको अवसरहरु प्राप्त भएका छन् ।  

चुनौति

  कुनै पनि कार्य गर्दा त्यहाँ चुनौती अवश्य नै हुन्छ । जहाँ चुनौती हुँदैन त्यहाँ सफल पनि हुन
  सकिंदैन ।त्यसलाई हामीले पार गर्न सकियो भने अवश्य नै सफलताको बाटोमा आइपुग्यो भनि
  सम्झे हुन्छ । यस विषयमा पनि धेरै चुनौतीहरु छन् । तिनीहरुलाई बँुदागत रुपमा राखिएका छन् ।
१. हाल सम्म प्रसारण भएको तामाङ रेडियो कार्यक्रमहरु सबै तामाङहरुले पूर्ण रुपमा नसुन्नु ।
२. रेडियो पत्रकारले समय अनुरुपको विषयवस्तुहरुलाई समेट्न नसक्नु ।  
३. रेडियो कार्यक्रमलाई तामाङ संघ÷संस्था र व्यवसायीहरुले बुझ्न नसक्नु ।
४. रेडियो पत्रकारहरुले पत्रकारिता गर्ने रहर गरेपनि आफुलाई स्तरीयता बनाउन नसक्नु ।
५. तामाङ जातीको आफ्नै रेडियो स्टेशन नहुनु ।
६. तामाङ रेडियो कार्यक्रमहरुको सम्बन्धीत निकायले अनुगमन नगर्नु ।   
७. कार्यक्रम सुन्ने श्रोताहरु पनि मनोरन्जनमा मात्र प्राथामिकता दिनु पनि चुनौती हो ।

अबको बाटो
अहिले मानिसहरुलाई विश्वमै भएको घट्नालाई रेडियोको माध्यमले सुसुचित गरिरहेको छ ।
विशेष गरी शहरमा भन्दा ग्रामीन क्षेत्रमा रेडियोको निकै महत्व छ । त्यसैले प्रत्येक तामाङ
  भाषाको रेडियो कार्यक्रमहरुबाट सूचना, मनोरञ्जन, चेतना, ज्ञानलाई मनन् गर्दै तामाङ रेडियो
  पत्रकारले आफ्नो भाषा, संस्कार संस्कृति, धर्म आदिलाई संरक्षनार्थ अभियानको रुपमा सन्चालन
  गर्नुपर्ने देखिन्छ ।

१. तामाङ रेडियो पत्रकारहरुले मनोरन्जनात्मक मात्र नभइ सामाजिक जिम्मेवारीको भुमिका निर्वाह गरी सस्ंकृति, इतिहास, परम्परागत कला, धर्म कृषि जस्ता विषयहरुमा खोज–अनुसन्धान गर्दै त्यसबाट प्राप्त सामग्रीलाई रिर्पोटको रुपमा प्रस्तुत् गर्न जरुरी रहेका छन् ।
२. सम्बन्धित संघ÷संस्थाले तामाङ रेडियो कार्यक्रम र समाचारमा बोल्ने शब्द र भाषालाई मानक
   बनाउन पहल गर्नुपर्दछ । र नयाँ पुस्ताको तामाङ रेडियो पत्रकारहरु पनि जन्माउने तिर जोड
   गर्नुपर्दछ ।
३. बालबालिकाहरुको लागि विशेष रेडियो कार्यक्रमहरु सन्चालन गर्न अत्तिनै जरुरी रहेको देखिन्छ ।
४. समय समयमा तामाङ रेडियो कार्यक्रमको अनुगमन र मुल्यांकन हुन पनि जरुरी देखिन्छ ।  
५. प्रत्येक रेडियोमा तामाङ भाषाको लागि निसुल्क समय उपलब्ध गर्नेतर्फ सम्बन्धित निकायले पहल गर्न आवश्यक रहेको छ ।   
६. तामाङ रेडियो पत्रकारहरुले श्रोतालाई ध्यानमा राखेर कार्यक्रम तयार पारेको छ कि छैन ?
   समुदायबीच यसले भर्याङ्को काम गर्न सकेको छ कि छैन ? यी विषयहरुको समीक्षा हुन जरुरी
   छ । त्यसको प्रभावकारितालाई समीक्षा नगर्ने हो भने कार्यक्रम प्रस्तोताको प्रयास निरर्थक हुने
   देखिन्छ । रेडियो कार्यक्रमको समीक्षाको मूख्य क्षेत्र भन्नु नै श्रोता हो । कार्यक्रममा प्रसारण हुने
   सामग्रीले श्रोताहरुमा के कस्ता सकारात्मक परिवर्तन ल्याएका छन ? यी प्रश्नहरुको जवाफ
   खोतल्ने हो भने कार्यक्रममा देखिएका कमी कमजोरीलाई सुधार गर्न सफलता मिल्ने छ ।  

निचोड
रेडियोमा तामाङ भाषा प्रसारणको वर्तमान अवस्था बारे लेखिएको यो लेखको मुख्य उद्देश्य भनेको तामाङ रेडियो कार्यक्रमहरु कसरी सन्चालन भइरहेका छन् ? कहिले कुन समयमा आउँछ । कुन कुन विषयवस्तु कार्यक्रममा समावेश गरिएको छ । त्यसमा प्रयोग गरिएको भाषा शैलीहरु कस्ता छन् ? आदि कुराहरु पत्ता लगाई तामाङ समुदायमा पुर्याउने उदेश्यले यो लेख तयार गरेको हो ।

त्यसैको आधारमा के भन्न सकिन्छ भने गएको २३ वर्ष देखि रेडियोमा तामाङ भाषा प्रसारणको इतिहास मौलाउदै अहिले निरन्तर विकासको क्रममा देखिन्छ । यसले दिएको उपलब्धीलाई मनन् गर्दै र आएको चुनौतीसंग तामाङ रेडियो पत्रकारहरुले प्रतिष्पर्दा गर्न सकिएको खण्डमा भोलिको दिनमा तामाङ रेडियो पत्रकारले आमसन्चारकै खुड्किला अवश्य पार गर्न सकिने छ । (लेखक रेडियो सगरमाथामा कार्यरत हुनुहुन्छ )

सम्बन्धित शिर्षक समाचारहरु


हाम्रो वारे

ल्हासो/फ्याफुल्ला ।
ग्रेटर ताम्सालिङ् मिडिया प्रालिद्वारा संचालित रेडियो ताम्सालिङ अनलाईन नेपालकै पहिलो तामाङ भाषाको अनलाईन रेडियो हो । स्वदेश र विदेशमा बस्ने केही तामाङ यूवाहरुको पहलमा तामाङ गीतसंगीत,तथा म्युजिक भिडियो गीत,सस्कार संस्कृतिको जगेर्ना गर्ने,तामाङको पहिचानका लागि आवाज उठाउने उदेश्यले यो अनलाईन संचालनमा आएको हो ।

ग्रेटर तामसालिङ मिडिया प्रा.लि.

रेडियो तामसालिङ अनलाईन, हेटौंडा
हेटौंडा उपमहानगरपालिका - ४
पारिजात पथ,शितलमहल चोक, हेटौंडा
फोन : ९८५५०७२८९०, ९८४५५१३७८९
http://www.radiotamsaling.com
Email: radiotamsaling@gmail.com


388087 Times Visited.

संचालन तथा प्रायोजनको हक सर्बाधिकार © ग्रेटर तामसालिङ्ग मिडिया प्रा.लि., हेटौंडा २०७३ मा सुरक्षित रहनेछ ।
Powered by :
Top