Radio Tamsaling - महावीर पुनले 'मेडिकल ड्रोन' बनाउँदै

महावीर पुनले 'मेडिकल ड्रोन' बनाउँदै

सूचना प्रविधि प्रकाशित मिति: २०७३ चैत्र १८ शुक्रवार

तामसालिङ खबर
काठमाडौ : सामाजिक अभियन्ता महावीर पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रले आफ्नो काम सुरु गरेको छ। 'मेडिकल ड्रोन' बनाउन आह्वान गर्दै आविष्कार केन्द्रले काम सुरु गरेको पुनले बताए।

उनले मंगलबार मेडिकल ड्रोनको विकास गर्न इच्छुक 'प्रतिभाशाली व्यक्तिहरू' सँग प्रस्ताव आह्वान गरेका छन् । 

मेडिकल ड्रोन औषधि ढुवानीमा सहयोग पुर्‍याउने स्वचालित मानवरहित उपकरण हो । यस्तो ड्रोनले स-सानो परिमाणमा औषधि ओसारपसारमा सहयोग पुर्‍याउँछ । 'हाम्रो गाउँघरमा स्वास्थ्य केन्द्र वा बजारबाट औषधि ओसारपसार गर्न यो यन्त्र उपयोगी हुन्छ,' उनले भने, 'यो हाम्रा लागि अति आवश्यक उपकरण पनि हो।' 

१० देखि १५ किलोमिटर उडान भर्न सक्ने ड्रोन बनाउने आफ्नो सोच रहेको उनले बताए। जतिसक्दो लामो उडान भर्न सक्ने ड्रोन विकास गर्ने लक्ष्य रहेको गरिने उनले बताए।

यसका लागि कति खर्च लाग्छ त?

'प्रारम्भिक कामका लागि १५-२० लाख खर्च लाग्छ। तर यो प्रारम्भिक मात्रै हो,' पुनले भने। राष्ट्रिय आविष्कार केन्द्रका लागि सञ्चालन भइरहेको 'महादान अभियान' अन्तर्गत उठेको केही रकम यसमा प्रयोग गरिने पुनको भनाइ छ। 

आविष्कार केन्द्र खोल्न पुनले 'महादान अभियान' सञ्चालन गरिरहेका छन्। यो अभियानअन्तर्गत २ करोड २५ लाखभन्दा बढी रकम संकलन भइसकेको छ। चन्दामार्फत उठेको रकम जलविद्युत निर्माणमा लगाउने र जलविद्युतको आम्दानीले आविष्कार केन्द्र चलाउने उनको योजना छ। प्रतिभाशाली युवालाई वैज्ञानिक अनुसन्धानमा आर्थिक, प्राविधिक सहयोगका साथै 'गाइडेन्स' र 'मेन्टरिङ' को प्रबन्ध गर्ने केन्द्रको योजना छ। 

केन्द्रले नेपाली परिवेश सुहाउँदो मोडलको 'मेडिकल ड्रोन' विकासमा जोड दिने पुनले बताए। 'हाम्रो परिवेशमा उपयुक्त हुने मेडिकल ड्रोन विकास गर्ने हाम्रो सोच छ,' उनले भने, 'हामीले डिजाइन गरेको ड्रोन अलि सस्तो पनि हुन्छ।' उनले आविष्कार केन्द्रले कम लागतमा ड्रोन उत्पादन गर्ने लक्ष्य राखेको बताए। ड्रोनमा काम गर्न चाहने युवा धेरै भएकाले पनि मेडिकल ड्रोन उत्पादन गर्न चाहेको उनको भनाइ छ। इन्जिनियर मात्रै नभएर ड्रोनले काम गर्ने प्रणालीको बारेमा ज्ञान भएका युवाले पनि आवेदन गर्न सक्नेछन्। यसका लागि औपचारिक शिक्षाको प्रमाणपत्र आवश्यक पर्दैन।

उनले आवेदन गर्ने समयसीमा भने खुलाएनन् तर 'जतिसक्दो चाँडो' आवेदन गर्न अनुरोध गरिएको बताए। 'हामी जतिसक्दो छिटो काम सुरु गर्ने पक्षमा छौं,' उनले भने। 




कमेन्टसहरु



हाम्रो वारे

ल्हासो/फ्याफुल्ला ।
ग्रेटर ताम्सालिङ् मिडिया प्रालिद्वारा संचालित रेडियो ताम्सालिङ अनलाईन नेपालकै पहिलो तामाङ भाषाको अनलाईन रेडियो हो । स्वदेश र विदेशमा बस्ने केही तामाङ यूवाहरुको पहलमा तामाङ गीतसंगीत,तथा म्युजिक भिडियो गीत,सस्कार संस्कृतिको जगेर्ना गर्ने,तामाङको पहिचानका लागि आवाज उठाउने उदेश्यले यो अनलाईन संचालनमा आएको हो ।

ग्रेटर तामसालिङ मिडिया प्रा.लि.

रेडियो तामसालिङ अनलाईन, हेटौंडा
हेटौंडा उपमहानगरपालिका - ४
पारिजात पथ,शितलमहल चोक, हेटौंडा
फोन : ९८५५०७२८९०, ९८४५५१३७८९
http://www.radiotamsaling.com
Email: radiotamsaling@gmail.com


388029 Times Visited.

संचालन तथा प्रायोजनको हक सर्बाधिकार © ग्रेटर तामसालिङ्ग मिडिया प्रा.लि., हेटौंडा २०७३ मा सुरक्षित रहनेछ ।
Powered by :
Top