• २०७५ माघ ८ मंगलबार/ 22nd Tuesday, 2019
  • 10:58:36

ताजा खबर

समसामाहिक

सन्दर्भ: आदिवासी विश्वविद्यालयको बहस  

  • २०७५ पौष ३ मंगलबार १०:५८:३६    तामसालिङ खबर
  • खोजराज गोले
    १.  विषय प्रवेश
    संसारमा अनेक किसिमका विश्वविद्यालयहरू छन् । बहुविषयीदेखि एक विषय केन्द्रित पनि छन् । कतिपय विश्वविद्यालयमा धेरै विद्यार्थी होलान् । कतिसँग सीमित सङ्ख्यामा होलान् । तिनीहरूसँग ज्ञानका भोका पनि होलान् । कति पढ्नै पर्ने बाध्यताद्वारा पीडित होलान् । कति देखावटी विद्यार्थी होलान् । कोही नियमित पढ्छन् । कोही टुरिष्ट-विद्यार्थी भन्छन् । कोही राजनैतिक अभिष्ट प्राप्तिका लागि पुगेका होलान् ।

     

    प्रायः विश्वविद्यालयका आफ्नै परिचय बनेका हुन्छन् । कोही बनाउने तरखरमा पनि हुँदा हुन् । कति नाम चलेका देखिन्छन् । कोही काम चलेका मात्रै देखिन्छन् । कोही सरकारी त कोही गैर सरकारी हुनुमा अनौठो मानिरहनु परोइन । सबैले विद्यार्थी लिन्छन् । पढाउँछन् । गुनाउँछन् । परीक्षा लिन्छन् । पास र फेल छुटाउँछन् । पास भएकालाई प्रमाण-पत्र दिन्छन् । कतिपय त अदक्ष वा अर्धदक्ष जनशक्ति उत्पादन गर्ने कारखाना मात्रै भएका होलान् ।

     

    अनेकानेक विषयहरू पढ्ने पढाउने क्रम चलेकै छ । कतिले जितेकाका कहानी पढाउँदा हुन् । कतिले हारेकाका इतिहास खोतल्ने तरिका सिकाउँदा हुन् । आस्था, मान्यता, सिद्धान्त र दर्शन पढ्नै पर्ने विषय हुन् । विज्ञान र तिनका चमत्कार छुटाउन मिल्ने कुरै भएन । के छैन र यहाँ ? चाहेको विषय पढ्न पाइन्छ । इच्छा गर्नु पर्छ । पढ्नका लागि आँट हुनुपर्छ । त्यसपछि उमेरले छेक्ला वा नछेक्ला तर गाँठले चाहिँ पक्का छेक्न सक्छ । त्यसैले गाँठको जोहो गर्न अनिवार्य मानिन्छन् । जहाँ र्इच्छा; त्यहाँ उपाय पनि भन्छन् । सक्नेहरूका लागि छात्रावृत्ति पनि नपाइने नै चाहिँ होइन ।

     

    फेरि पनि, कतिले पढ्न पाएका छन् । कतिले चाहनालाई दबाएका छन् । पढ्नै पर्ने विषय पढेँ भन्नेहरू पनि भेटिन्छन् । उपाय नचलेपछि प्रमाण-पत्र लिनैका लागि पढेकाहरू पनि कम्ता भेटिन्नन् । आँखाका ज्योति नभएकाले पनि पढ्ने अवसर पाएका छन् । बोल्न र सुन्न नसक्नेले पनि पढेकै छन् । हो; सबलाङ्गको के कुरा बिकलाङ्ग भनिएकाहरूले पनि चमत्कार गरेका छन् । चाहना र अवसर मिलाउन सक्नेले पढेरै ठूलो नाम कमाएका छन् । धन दौलत पनि जमाएका छन् ।

     

    तैपनि, आफूले चाहेको जस्तो विषय पढ्न पाइएन भन्ने आवाज पनि सुन्दै आएका छौं । अर्काकै कुरा मात्रै पढ्न बाध्य भयौं भन्ने पनि भेटाएका छौं । अर्कोको नाम र कहानी पढ्दा-पढ्दै वाक्क भएर हिँडेकाहरू पनि खोज्न सके नपाउने भन्ने छैन । जेहोस्, विश्वविद्यालयहरूका काम पढाउने हो । जान्नेसुन्नेहरूले विषय पनि आफू अनुकूल तोक्तारहेछन् ।

     

    संसारमा आदिवासी र जनजातिहरू पनि छन् । तिनीहरूलाई अनेक नामद्वारा चिन्ने र चिनाउने क्रम चलिरहेकै छ । भूमि खोसुवामा परेका वा अन्यको उपस्थितिका कारण पछि परेकाहरू धेरै छन् ।  पछि आएकाहरूका कारण तिनीहरू विभेदमा पर्दै आएका छन् । तिनीहरूका आवाज शून्य भएका उदाहरण पनि पाइन्छन् । अब आदिवासी जनजातिलाई जिराफ बनाएर राख्न गाह्रो छ । त्यसो गर्नु पनि हुँदैन । तिनीहरू पनि मानवसभ्यताको हिस्सा हुन् । त्यसैले तिनीहरूका बारेमा विश्वविद्यालयस्तरमा अध्ययन अध्ययापन अत्यन्तै जरुरी छ ।

     

    आदिवासी जनजातिका जीवनशैली, संस्कार संस्कृतिका बारेमा एउटा विषय राखेर हुँदैन । तिनका बारेमा विस्तृत अध्ययन आवश्यक छ । संसारमा स्थापित विविध वादहरू छन् । तिनीहरूमध्ये आदिवासीवाद पनि एक हो । अबको विश्वमा आदिवासीवादले शीर उठाउन सक्नुपर्छ । अन्यथा सृष्टि र सिर्जना समाप्तिको अन्त्यबिन्दुमा ठोक्किन पुग्दैछ । मानव र मानवीयता अनि प्रकृति साथै जैविक विविधताको सुरक्षा गर्नै छ । त्यसका लागि आदिवासीवादको अध्ययन अपरिहार्य छ ।

     

    वास्तवमा संसारमा स्थापित दर्शनहरुलाई ठ्याक लगाउनसक्ने क्षमता आदिवासीवादसँग मात्रै छ । यिनै तथ्यलाई हृदयङ्गम गर्दै यो लेखको लागि ”महान् आदिवासी विश्वविद्यालय : सम्भाव्यता सम्बन्धी एक बहस !!’’ शीर्षक जुराएको छु । हुन त २०६०/०६२ सालतिरबाटै यो विषय मेरो मनमस्तिष्कमा प्रवेश गरेको थियो । २०७० सालतिरबाट लोकोत्तर लोकवादी विचार समूहसँगै यो विषयको बारेमा लेख्न थालेको थिएँ । आज आएर बल्ल यही शीर्षकमा यसरी लेख्ने प्रयास गरेको छु ।

     

    २.  आदिवासी विश्वविद्यालयको आवश्यकता
    आदिवासी विश्वविद्यालयको आवश्यकता हो कि होइन भन्नेमा फरक मतहरू हुन सक्छन् । कत्तिका लागि हाँसोको विषय पनि बन्ला । कत्तिका लागि खुशीको खबर हुन नसक्ला भन्ने छैन । आदिवासी विश्वविद्यालयको अपरिहार्यतालाई बुझेरै यो प्रयास गरेको छु । विश्वमा धेरै विषयहरूका अध्ययन अध्यापन गर्ने विश्वविद्यालयहरू बनेका छन् । तिनीहरू आ-आफ्ना विषयहरू पढाउन व्यस्त छन् । तथापि, आदिवासीका हकमा चित्त बुझ्दो देखिएका छैनन् । वास्वतबमै संसारमा आदिवासी, जनजाति र आदिवासीइतरका मानिसहरू छन् ।

     

    प्रायः देशहरूमा अन्य (आदिवासीभन्दा बाहेक)का प्रवेशसँग आदिवासीहरू विस्थापित हुँदै आएका छन् । भन्छन् नि; वनसाङ्लोले घरसाङ्लोलाई लखेट्छ । हो; विश्व मानव सभ्यताहरूलाई हेर्ने हो भने आदिवासीलाई अन्यले खेदेका वा विभेदमा पारेका उदाहरणहरू प्रशस्तै छन् । अहिलेसम्मका अधिकांश विश्वविद्यालयहरूले तिनै अन्य (आदिवासी इतर)का विषयलाई अत्याधिक प्राथमिकता दिँदै आएका छन् । आदिवासीका विषयलाई कुनै एक विषयको अंश मात्रै बनाएका छन् । भन्नैपर्दा, आदिवासीवादको बारेमा पढाएका छैनन् । कतिपय विश्वविद्यालयद्वारा अनेक उपाधि प्राप्तहरूका लागि आदिवासीवाद हाँसोको विषय पनि हुन सक्छ ।

     

    यति हुँदा-हुँदै पनि, आदिवासीवाद जबरजस्त रूपमा स्थापित हुने क्रम रहेको छ । अष्ट्रेलिया, ताइवान र क्यानाडाका सरकारले आदिवासीसित क्षमा मागेका छन् । नेपालले पनि आदिवासी जनजातिसित माफी माग्नुपर्छ भनेर लेख्दै र बोल्दै आएको छु । वि.सं. २०६७ सालमा सोमसोर नामक साहित्यिक आन्दोलनको घोषणा गरेका थियौं । त्यतिखेर आदिवासी जनजातिका मुद्दालाई उठाउने उद्घोष गरेका थियौं । पछिल्लो पटक वि.सं. २०७० भदौ २० गते सिन्धुलीबाट लोकोत्तर लोकवादी विचार समूह नामसहित साहित्यिक आन्दोलनको घोषणा गरेका थियौं । त्यसपछि स्पष्ट शब्दमा आदिवासीवादको कुरा गर्न थालेका थियौं । सोही समय व्यानरमै आदिवासीवाद शब्द लेखेका थियौं । आदिवासीवाद सम्बन्धमा विशेषज्ञ व्यक्तिहरूका समुपस्थितिमा अन्तरक्रियात्मक कार्यक्रम गरेका थियौं ।

     

    हरेक पाइलाहरू शुन्यबाट थाल्नु त छँदै थियो । कतिपय साथीहरूले उपहासको पात्र मानेका पनि अझै याद आइरहेकै छ । यस्तै समस्याबीच पनि आज यो लेख तयार पारेको छु । संसारमा आदिवासीवाद हुनसक्छ भन्ने कुरामा धेरैलाई विश्वास छैन । थोरैले विश्वास गरेका छन् । तथ्यबोध गर्दै लागि परेका छन् । नेपालमै आदिवासीवादमा आधारित राजनीतिका लागि कम्बर कस्दै गरेकाहरू पनि देखिएका छन् । नोमचोम्स्की जस्ता विश्लेषकले त अबको संसारलाई बचाउने ज्ञान र क्षमता आदिवासीहरूसँग मात्रै रहेको भनी लेखिसकेका छन् ।

     

    यस्तो बेलामा पनि आदिवासीवादमाथि शङ्का गरिरहने हो भने केही गर्न सकिन्न । बिना शङ्का आदिवासीवादलाई स्थापित गराउनेतिर लाग्नु आजको पहिलो आवश्यकता हो । कति मान्छेहरू छन्; जो आदिवासीवाद भन्ने बित्तिकै गैरआदिवासीलाई कता राख्छौ भन्दै बालहठपूर्ण प्रश्न तेर्स्याउनै व्यस्त छन् । आदिवासीवाद भनेको गैरआदिवासीलाई खेद्ने वाद होइन । प्राणी (जीव तथा वनस्पति), प्रकृति र चराचर जगत्को पक्षमा वकालत गर्ने विषय हो । तिनका बारेमा अध्ययन, अनुसन्धान र उत्खनन् गर्ने ज्ञान हो ।

     

    यो त चेतनामाथि चेतनाको सिर्जनशील हस्तक्षेप हो । हामी सबै सतत्, सार्वभौम र समृद्ध छौं भन्ने तथ्यबोध गराउने उपाय पनि हो । निषेध विरुद्ध निषेधहीन निषेधवाद हो । द्वन्द्व निरुपणको रचनात्मक रूपान्तरणको नियम हो । समतामूलक बहुआयामिक बहुलतावादको अभ्यास पनि हो । तथापि, यो तथ्यलाई बुझाउन सकेको छैन । आदिवासीहरू आफैँमा समस्या होइनन् । यिनीहरू द्वन्द्व र समस्याका समाधान हुन् । यिनका ज्ञान र विश्वदृष्टिकोण अबको विश्वको प्राण तत्व हो । संसारलाई सही दिशा र गति दिनु सबैको पहिलो कर्तव्य र दायित्व हो । यसै कारण महान् आदिवासी विश्वविद्यालयको अपरिहार्यता महशुश गरेका छौं ।

     

    ३.  आदिवासी विश्वविद्यालयको चिनारी
    आदिवासी विश्वविद्यालय भनेको के कस्तो हुनेछ ? यसलाई कसरी बुझ्ने र बुझाउने ? यसले के कस्ता विषयलाई समेट्ने छ भन्ने प्रश्न उठ्ने नै भयो । वास्तवमा हरेक मानव समुदाय कुनै न कुनै स्थानको आदिवासी हुन्छन् । आफ्नो स्थान छोडेर अर्काका आवादी क्षेत्रमा प्रवेश गरेपछि उसको आदिवासीत्व समाप्त हुन्छ । विश्वमा धेरै भूमिपुत्र आदिवासीहरू छन् । तिनलाई स्थान तथा मान्यताका आधारमा विभिन्न नामद्वारा चिन्ने र चिनाउने परम्परा रहेको छ । संसारका प्रायः आदिवासीहरू पछि प्रवेश गरेका गैरआदिवासीहरूद्वारा समस्यामा फसेका छन् ।

     

    त्यसपछि आदिवासीका ज्ञानप्रणाली वा पद्धति, सिद्धान्त तथा दर्शनहरू माथि प्रहार भएका छन् । तहसनहस पारेका छन् । आमरूपमा नश्लीय नरसंहारमा पर्दै आएका छन् । तिनका भूमिसँगै, भाषा, धर्म, संस्कार, संस्कृति, साहित्य, कला र इतिहास लगायतका सबै चिज लुटिएका छन् । परिणामतः कतिपयले आफ्नो वंश भन्न समेत पाएनन् । तिनै महान् आदिवासीका सीप, ज्ञान, मान्यता, पद्धति, सिद्धान्त र दर्शनलगायत सम्पूर्ण विषयवस्तुको गहिरो अध्ययन गर्ने गराउने विश्वविद्यालय नै महान् आदिवासी विश्वविद्यालय हो । यसले विश्वमा रहेका आदिवासीका बारेमा अध्ययन अनुसन्धान गर्नेछ । तिनीहरूले निर्माण तथा स्थापित गरेका मूल्य र मान्यताको उत्खनन्, संरक्षण, सम्बर्द्धन र विकासका लागि विद्यार्थीलाई शिक्षा दिनेछ ।

     

    आदिवासीलाई हेर्ने दृष्टिकोणमा रहेका खराबीलाई मिलाउनेछ । एक विश्व एक मानव; अनि मानवसँगै जीव, वनस्पति र प्रकृति लगायतका सबैलाई समान हकाधिकार दिलाउनुपर्छ भन्ने नयाँ शिक्षा दिनेछ । आदिवासी र आदिवासीवादलाई विभिन्न विषयहरूमा छुटाएर शुक्ष्मातिशुक्ष्म साथै अति गहन अध्ययन गराउनेछ । विश्व मानवसभ्यतामा नयाँ दर्शन स्थापित गर्ने गराउनेछ । मानवलाई साँच्चैको मानव हुन सिकाउने छ । त्यसका लागि आवश्यक ज्ञान दिनेछ ।

     

    अहिलेका विश्वविद्यालयहरूमा पढाउने शैली लगायत विषय छनौटमा गम्भीर त्रुटीहरू छन् । तिनीहरूलाई केलाउने छ । नमिलेकालाई मिलाउने छ । मिलेकामा आदिवासी ज्ञान र दर्शनद्वारा प्राण भर्नेछ । अध्ययन अध्यापनको संसारमा नयाँ युग थप्नेछ । साँच्चैको उचित दिशानिर्देश गर्नेछ । कुनै एक स्थानमा बसेर अध्ययन गर्ने परम्पराको अतिरिक्त विभिन्न स्थानहरूमा पुर्‍याएर अध्ययन पूरा गराउने विधिको वास्तविक शुरूवात गर्नेछ । अहिलेका विश्वविद्यालयहरूले अवलम्बन गरेका भन्दा चुस्त र उचित तरिकाले शिक्षा दिनेछ । अध्यापक, अध्ययनकर्ता साथै समुदाय (विश्व समुदाय समेत)का बीचमा रहेका खाडललाई पुर्नेछ ।

    यसको शुरूवात नेपालबाटै हुनेछ । तसर्थ, बाहिर पढ्न जाने भन्दापनि बाह्यलाई नेपालमा पढ्न निम्तो दिनेछ । सम्भव्यताको आधारमा बिस्तारै यसको विस्तार गर्दै लगिनेछ । अहिलेको अशान्ति, आक्रान्त साथै त्रासद् संसारलाई परिवर्तन गर्न सक्ने ज्ञानले युक्त जनशक्ति जन्माउनेछ । यो धर्तीको आयू बढाउने अनि यसलाई स्वर्ग बनाउन सक्ने ज्ञान, ज्ञानी र बाटो दिनेछ । साँच्चैको नयाँ संसारमा प्रवेश गर्ने गराउनेछ । विकासको नाममा हुँदै आएका बिनासलाई रोक्ने छ । प्राकृतिक स्रोत साधनको दोहन भन्दापनि सुरक्षण गर्दै बाँच्न र बचाउने ज्ञान दिनेछ ।

     

    यतिखेर विश्वविद्यालय तथा महाविहारहरूका इतिहासलाई पनि केलाउन जरुरी छ । यसरी हेर्दा, भारतवर्षमा हिन्दूहरूले गुरुकुल परम्पराको विकास गरेका देखिन्छन् । बौद्धहरूले विहारको अवधारणा ल्याए । विशेषगरी पश्चिमाहरूले पिन तिनै महाविहारहरूबाटै सिके । त्यसपछि युनिभर्सिटी नामाकरण गरे । त्यसैलाई नेपालमा भने विश्वविद्यालय भन्ने गरेका छौं । यो लेखको शीर्षकमै आदिवासी विश्वविद्यालय भनेको छु । यसको नेपाली संस्करण चाहिँ ‘महान् आदिवासी विश्वविद्यालय’ हुनेछ । छोटकरीमा ‘आदिवासी विश्वविद्यालय’ भन्न सकिनेछ । अङ्ग्रेजी संस्करणका लागि भने ‘The Great Indeginous University’ भन्नेछ । छोटकरीमा ‘Indeginous University (I.U.)’ मात्रै भन्न सकिनेछ ।

     

    ४.  यसअघिका केही प्रयासहरू
    संसारकै शुरूवाती चरणमा तक्षशीला, नालन्द, ओदन्तपुरी लगायतका महाविहारहरू बनेका थिए ।  यहाँ ‘महाविहार’ साथै ‘विश्वविद्यालय’ शब्दका बारेमा पनि केही कुरा बुझ्नैपर्ने हुन्छ । विशेषतः बौद्धदर्शनको विकासपछि महाविहारहरू बने । तिनीहरूले विद्यार्थी लिएर पढाउन थाले । पछिल्लो समयमा इशार्इहरूले विश्वविद्यालयको अवधारणा बनाएका भन्ने देखिन्छ । त्यसक्रममा इटालीमा सन् १०८८ मै University of Bologna स्थापना गरेका थिए । मुस्लिमहरूले भने इजिप्टमा सन् ९७० मै Al-Azhar University स्थापना गरेका थिए । अहिले संसारमा प्रशस्त विश्वविद्यालयहरू सञ्चालनमा रहेका छन् ।

     

    भारतबाट गुरुकुल परम्पराको शुरूवात भएको थियो । पछिल्लो समयमा बौद्धसँगै महाविहारहरू स्थापित भए । तिनै महाविहारहरूलाई पनि विश्वविद्यालय वा युनिभर्सिटी भन्ने गरेका छन् । तिनीहरूले विश्वमा अनेक ज्ञानलाई आफ्नो विषय बनाएका थिए । नेपाली इतिहासमा वि.सं. २०१६ सालमा मात्रै त्रिभूवन विश्वविद्यालयको स्थापना भएको थियो । यद्यपि, नेपाल संस्कृत विश्वविद्यालय भने वि.सं. २०४३ मा भएको देखिन्छ । डा. धनप्रसाद सुवेदी ‘श्रमिक’ लेख्छन्, ”टंकबहादुर रार्इको सम्पादकत्वमा प्रकाशित हुने ‘पारुहाङ’ मासिकमा २०३७ सालतिरै ’किरात भाषाका विभिन्न शाखाहरूका अनुसन्धान, संरक्षण र विकासको लागि किरात विश्वविद्यालय स्थापना गरिनुपर्छ’ भन्ने आह्वान छापिएको थियो ।’’

     

    तथापि, नेपाली परिवेशमा पनि अहिलेका विश्वविद्यालयले अपनाएका पठनशैलीमाथि प्रश्नहरू उठेका देखिन्छन् । अध्ययन शैली नै नमिलेको वा अपूरो रहेको भन्ने देखिएका छन् । नेपाली विश्वविद्यालयहरूले अदक्ष वा अर्धदक्ष जनशक्ति मात्रै उत्पादन गर्दै आएका भन्ने आरोप लगाएका पनि पाइन्छन् । ‘ब्रेन डेन’द्वारा नेपाल ग्रस्त छ । यसको दोष पनि विश्वविद्यालय साथै शिक्षा नीतिलाई लगाउँछन् । बुर्जुवा शिक्षा भन्ने आरोप त सामान्य नै भइसकेको छ । आवाजविहनीहरूका आवाज सुनेका छैनन् । इतिहास पनि गलत छन् । सही इतिहास लेख्ने क्रम चलाउन आवश्यक भएको छ ।

     

    यसका लागि हालका विश्वविद्यालयहरूले नसक्ने दाबी गर्नेहरू पनि छन् । त्यसैले पनि हुनसक्छ; माथि उल्लेख गरिएको ‘किरात विश्वविद्यालय’ स्थापनाको लागि केही वर्षअघि गोपाल किराँती लगायतका केही अग्रजहरूले प्रयास गरेका थिए । उक्त प्रयास सफल हुन सकेन । यिनै परिस्थितिजन्य अवस्थाको खासै वास्ता गरिएन । लोकोत्तर लोकवादी विचार समूहको गठनपछि भने आदिवासी विश्वविद्यालयको कुरा अन्यका सामुन्ने बोल्न सक्ने भएको हुँ । केही साथीहरूसँग यस सम्बन्धमा कुराकानी गर्दै थिएँ । विशेषगरी  धनप्रसाद तामाङ अस्यङसँग कुरा भएका थिए । एकपटक अचानक फेसबूक वालमा महान् आदिवासी विश्वविद्यालय स्थापना गर्नुपर्छ भनेर लेखेकै थिएँ ।

     

    त्यसको केही दिनपछि अमृत योन्जन-तामाङ अस्यङले बौद्धमा भेट हुँदा केही कुरा राख्नु भएको थियो । उहाँका अनुसार उहाँका केही साथीहरू ”इथ्निक स्टडिज्’’को लागि प्रयासरत थिए । त्यसका लागि कुनै सम्बन्धन दिने विश्वविद्यालयको खोजीमा थिए । उहाँले मेरो कुरा सुन्नु भएपछि, अहिले सम्भव छैन भन्नु भएको थियो । मेरै जीवनकालमा हुनेछ भनेर भन्न सक्तिँन । अहिले हामीले लेखेर मात्रै राखेमा पनि पछिल्ला पुस्ताका लागि सहज हुनेछ ।

     

    आदिवासी विश्वविद्यालयहरू प्रशस्तै छन् भनेर आर.के.जीले भनेका थिए । त्यस अनुसार नेटमा खोज्दा खासै पाइँन । खोज्ने क्रममा नाइजेरियामा University of Nigeria, Nsukka नामक विश्वविद्यालय भेट्टाएँ । सन् १९५५ मा स्थापित उक्त विश्वविद्यालयलाई ”The University of Nigeria, Nsukka was the second university to be established in the country but it was the first full-fledged indigenous and independent university in Nigeria. (https://nigerianfinder.com/first-universities-in-nigeria-oldest)’’ भनेका रहेछन् ।

     

    उल्लेखित विश्वविद्यालयले अमेरिकन शिक्षण पद्धतिलाई अवलम्बन गरेको भन्ने देखिएको छ (https://en.wikipedia.org/wiki/University_of_Nigeria,_Nsukka)। यिनै तथ्यहरूका आधारमा पनि Indeginous University स्थापना गर्नैपर्ने भन्ने प्रमाणित हुन्छ । आदिवासी विश्वविद्यालय बिना अन्यबाट सम्बन्धन लिएर आदिवासीका कुरा पढाउने वा अन्यले आदिवासी विद्यार्थीलाई सहयोग पुर्‍याउने जस्ता कुराले मात्रै हुँदैन । त्यसकारण विश्वका आदिवासी मात्रै नभएर मानव समुदायले नै आदिवासी विश्वविद्यालयको लागि आवश्यक कदम चाल्न ढिलो गर्नु हुन्न ।

     

    ५.  सम्भावना र चुनौती
    आदिवासी विश्वविद्यालयको सम्भाव्यता बढ्दै गएको छ । यसका लागि चुनौती चाहिँ छैनन् भन्ने हुँदै होइन । अनेक चुनौतीहरू देखिने छन् । समस्यादेखि डराएर हुँदैन । डटेर सामना गर्नुको विकल्प छैन । यसले नेपाललाई मात्रै नभएर समग्र संसारलाई नै नयाँ गति, दिशा साथै समयतिर लैजानेछ । यतिखेर पृथ्वीको दिन गन्ती थालेका छन् । त्रासद् भविष्यले सताउँदैछ । संसारमा हाहाकार मच्चिँदो छ । ओजोन तहमा प्वाल पर्न थालेको पनि धेरै भइसक्यो । हिमालको हिउँ पग्लन थालिसकेका छन् । तापक्रम बढिरहेकै छ । नयाँ-नयाँ रोगव्याधिहरू देखापर्नेक्रम तिब्र हुँदैछ । शान्ति भङ्ग हुँदैछ । प्राकृतिक प्रकोपको भय दैनदिन बढ्दै गइरहेको छ । भोकमरी र अमानवीय व्यवहारले सीमा नाघ्दैछ ।

     

    संसारमा शान्तिको खडेरी पर्दैछ । त्यसैले अमनचयनको तिर्खा बढ्दैछ । मानवीयता आकाशको फल हुँदैछ । सत्ता तथा राष्ट्रिय एवं अन्तर्राष्ट्रिय सङ्घ संस्था तथा मिशनहरू सङ्गठित अपराधीका चङ्गुलमा फस्दैछन् । यसैले यहाँ शान्ति स्थापना पहिलो आवश्यकता भएको छ । मानवीयताका लागि कयौं बुद्धहरूका जन्म आवश्यक महशुश गर्दैछौं । नश्लीयताको आधारमा तेरो र मेरो भन्न छोडेर मानवीयताको पक्षमा वकालत गर्नु छ । हरेक प्राणी (वनस्पतिसहित), पर्यावरण साथै चराचर जगत्को समेत समान साथै बराबरी अधिकार स्थापना गर्न सक्ने ज्ञानको आवश्यकता खडि्कएको छ । यी सबैका लागि एक मात्र उपाय भनेको ज्ञान निर्माण नै हो । त्यसैका लागि विश्वविद्यालय वा महाविहार वा त्यस्तै एक स्वतन्त्र संस्थाको आवश्यक छ । यस्तो अवस्थाबीच स्थापित हुने आदिवासी विश्वविद्यालयले नश्लीयताभन्दा माथि उठेर प्राणी, पर्यावरण र चराचर जगत्का यावत् अवयवहरूलाई समान अधिकार दिलाउन सक्ने ज्ञान र बाटो दिनेछ ।

     

    यसप्रकार महान् आदिवासी विश्वविद्यालयको सम्भाव्यता दैनदिन बढ्दै गइरहेको छ । यसक्रममा यसले तरह-तरहका चुनौतीहरूका सामना गर्नेछ । यात्राको क्रममा आदिवासी भन्ने शब्द सुन्ने बित्तिकै कतिपयले ताली दिनेछन् । कतिपयले गाली दिनेछन् । साँच्चैमा कदम चालेपछि कतिले भाँजो हाल्नु नै आफ्नो धर्म सोच्न बेर लगाउने छैनन् । नेपाली राजनैतिक जगत्मा कतिपयले आफ्नो मुटुमा काँढो रोपिँदैछ भनेर बुझ्ने छन् । त्यस्ताहरूलाई समेत स्पष्ट, आश्वस्त साथै विश्वासमा लिन सक्नु पर्नेछ । यो त आदिवासी जनजातिका लागि मात्रै हुँदै होइन भनेर बुझाउन निकै गाह्रो छ । तथापि, सत्य(अझै तथ्य) यही नै भएकोले एकदिन अवश्य सफलता मिल्नेमा कुनै द्वीविधा छैन । हाम्रो यही जीवनमा होला या न होला पनि; तर भविष्यमा यसको कुनै विकल्प हुने छैन । अन्ततः यसैलाई सत्य साथै तथ्यको रूपमा बुझ्ने छन् । साँच्चैमा आदिवासी विश्वविद्यालय स्थापना हुनेछ ।

     

    चुनौतीकै कुरा गर्दा सर्वप्रथमतः मान्यता वा स्वीकृतिको कुरा आउनेछ । त्यसक्रममा नेपाल सरकारले देला र भन्ने शङ्का पनि छँदैछ । त्यसपछि आर्थिक पक्ष असामान्यत स्वरूपमा उभिनेछ । पाठ्यक्रम विकासका लागि आवश्यक जनशक्ति निकै कम रहेको छ । स्रोत साधनको प्रशोधन, परिमार्जन साथै परिष्करण गर्नु भनेको फलामको चिउरा समान हुन बेर छैन । कुनै एक स्थानमा एउटा कलेज चलाएर मात्रै केही हुने छैन । विश्वविद्यालय चलाउने कुरा सामान्य हुँदै होइन । विश्वव्यापीकरण अझै ठूलो खड्को सावित हुनेछ । तथापि, काँडाबीचै कोमल फूल फुल्छन् । ढुङ्गामा पनि रूख उम्रन्छन् । पानीबाटै आगो निस्कन्छन् । कायापलट भन्ने पनि हुन्छ नै । त्यसका लागि उपयुक्त पात्रहरूलाई समयले अवस्य जन्माउनेछ । यसकारण पनि महान् आदिवासी विश्वविद्यालय सम्भव छ ।

     

    यसका लागि, महान् पुर्खाहरू हाम्रा सामुन्ने प्रकट हुनेछन् । ‘फो ल’ (कुल/इष्टदेवता)हरू हाम्रा ‘चिवा’ (शीर)मा रहनेछन् । घाम र जून हाम्रा दायाँ-बायाँ सजिने छन् । पितृभूमि (मातृभूमि)ले आवश्यक ऊर्जा दिनेछ । भाषा, संस्कार, संस्कृति, कला तथा साहित्यलगायतले प्रविधिको स्वरूप लिनेछन् । हाम्रा विश्वास, मान्यता, सिद्धान्त, दर्शन तथा विश्वदृष्टिकोणहरू मनचिन्ते यान बन्नेछन् । वनस्पति सहितका प्राणीहरू हाम्रा योद्धा हुनेछन् । हाम्रा सदिच्छा, चाहना, प्रार्थना तथा कामनाहरू साकार स्वरूप लिने सपना हुनेछन् । प्रकृतिवाद हाम्रो लक्ष्य हुनेछ । आदिवासीवाद हाम्रो आधार हुनेछ । चराचर जगत् हाम्रो सत्ता हुनेछ । त्यसैले महान् आदिवासी विश्वविद्यालय स्थापना कुनै पनि हालतमा हुनेछ ।

     

    ६.  अनुरोध
    यति कुरा गरिसकेपछि केही अनुरोध गर्ने अधिकार पाएँ जस्तो लागेको छ । यतिखेर आदिवासी विश्वविद्यालय स्थापनाको कुरा मात्रै गर्न खोजेको हुँदै होइन । कुरै त हो भनेर मात्रै यसरी प्रस्तुत् गरेको भनेर पनि नबुझ्नु होला । गफाडीको गफ भन्ने लागेछ भनेपनि एक पटक पुर्खाका काखमा बसेर विचार गर्नु होला । सयमा उनान्सय मनले गलत भनेछन् भनेपनि एक मनकै कुरामा विश्वास गर्नु होला । पङ्क्तिकार आफैँ हिरो हुने त हो नि भन्ने भावना नराख्नु होला ।

     

    बरु आफैँलाई यस महान् कर्मको हिरोको रूपमा राखेर हेर्नु होला । शङ्का होइन विश्वास गरेर हेर्नु होला । आफ्नो तर्फबाट सहयोग गर्न नसके पनि ठिकै छ । गलत कुरा गरेर अन्यलाई भड्काउने कर्म नगरिदिनु होला । तिङ्दो फो ल; कुलदेउता; इष्टदेवतादेखि लिएर महान् पुर्खालाई साक्षी राखेर विश्वास दिलाउन चाहेको छु । यत्ति नै भनेँ । बाँकी आगमी दिनमा लेख्ने नै छु । यसमा यहाँहरूका सहयोगी हात, समय तथा मान्यताको अपेक्षा लिएको छु । धन्यवाद !! 

    प्रतिकृया दिनुहोस

    जलवायु परिवर्तन र आदिवासी जनजाती सवाल

    मिलन तामाङ   जलवायु परिवर्तन आज आएर विश्वको साझा मुद्दा र छलफलको बिषय बनेको छ । यसले बातावरणमा पारेको प्रभावको कारण विश्वका मानिसहरु यसबाट प्रभावित

    समिक्षामा: अन्तर्राष्ट्रिय तामाङ परिषदको मिरिक सम्मेलन 

    -खाेजराज गाेले  भर्खरै अन्तर्राष्ट्रिय तामाङ परिषद्को चौथो सम्मेलन मिरिकमा सम्पन्न भएको छ । सम्मेलनमा १९ देशका प्रतिनिधिहरुका सहभागिता रहेको

    नामाकरणको मुख्य आधार पहिचान भाग - २

    मोहन गोले तामाङ विश्वका धेरैवटा संघीय मुलुकहरुले सम्भव भएसम्म पहिचानको आधारमा नै प्रदेशहरुको नामाकरण गरेको देखिन्छ । ती आधारमा जातीय सभ्यताले

    पहिचान, प्रदेश नामाकरणको पहिलो आधार हो

    मोहन गोले तामाङ विश्वका सानाठूला २८ भन्दा बढी राष्ट्रहरूले सङ्घीय प्रणाली अपनाएकोमा धेरै राष्ट्रहरूले सङ्घ निर्माणको पहिलो आधार वा राज्यहरूको

    एक चर्चा: अन्तर्राष्ट्रिय तामाङ परिषद्को चौथो सम्मेलन

    मोहन गोले तामाङ यतिबेला हामी अन्तर्राष्ट्रिय तामाङ परिषद्को सम्मेलन नजिक पुगेका छौ । सन् २०१८ डिसेम्बर १४, १५ र १६ मा परिषद्को चौथो सम्मेलन सम्पन्न

    खादा प्रतिबन्ध: वातावरणीय स्वच्छता की धार्मिक असहिष्णुता ?

    गणेश राई काठमाडौँ - केही वर्षदेखि खादा संस्कृतिमाथि धावा बोल्ने क्रम बढेको छ । त्यसको सुरुवात प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका हुन् । उनी